राप्ती किनारमा साइरन जडान : नरैनापुरका बासिन्दा बाढीको पूर्वसूचना पाएर ढुक्क

  • नमस्ते कर्णाली

  • १७, असार २०८२
    बाँके ।मनसुन सुरु भएसँगै बाढीको जोखिममा रहेका बाँके जिल्लाको नरैनापुर गाउँपालिकाका बासिन्दाहरूका लागि राहतको सन्देश आएको छ। सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले बाढीको पूर्व सूचना दिनका लागि राप्ती नदी तटीय क्षेत्रमा साइरन जडान गरेको छ। करिब २८ लाख रुपैयाँको लागतमा गाउँपालिका र एसडिएफको सहकार्यमा यो कार्य सम्पन्न गरिएको हो।

    २०७१ सालको विनाशकारी बाढीबाट नरैनापुर–५ र ६ मा ठूलो क्षति पुगेको थियो। धेरै स्थानीय बासिन्दा घरबार गुमाएर लामो समयसम्म पालमुनि बस्न बाध्य भएका थिए। त्यसयता बाढीको त्रास नरैनापुरमा अझै गहिरो छ। अब भने साइरन जडानसँगै बासिन्दाले विपद् आउनु अघि नै पूर्व जानकारी पाउने भएका छन्।

    एसडिएफका अध्यक्ष चम्पसिंह थापा मगरका अनुसार, “अब वर्षा हुँदा गाउँलेहरू ढुक्कसँग सुत्न पाउँछन्।”
    एसडिएफका एडभाइजर घनश्याम उपाध्यायले पनि बाढी पूर्वसूचना दिने साइरनले विपद् व्यवस्थापनमा ठूलो सहायता पुग्ने बताए।

    साइरन नरैनापुर–५ को मटेहिया र ६ को भगवानपुर, सोनबर्षा, गङ्गापुरमा जडान गरिएको छ। बाढीको सतह खतराको सीमाना पार गरेलगत्तै साइरन बज्नेछ। साथै मोबाइल एसएमएसमार्फत पनि पूर्व सूचना पठाइने व्यवस्था गरिएको छ।

    नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले भनिन्, “राप्ती नदीको बाँध भत्किए नरैनापुरका हजारौँ घरधुरी डुबानमा पर्छन्, तर संघीय र प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बाँधको निर्माणतर्फ ध्यान दिइएको छैन।”

    यसै सन्दर्भमा वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, विपद् शाखा प्रमुख भरत महतो, रेन परियोजनाकी सुमिता पौडेल, र सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले साइरनको कार्यान्वयन क्षेत्र अनुगमन गरेका छन्।

    यसबाहेक, गाउँपालिकाले वडा नं. ५ र ६ मा आकस्मिक अवस्थामा प्रयोग हुने सेल्टर हाउसहरू निर्माण गरी तयारी अवस्थामा राखेको जनाएको छ।

    स्थानीय सरकार र सामाजिक संस्थाको सहकार्यमा गरिएको यो पहल विपद् व्यवस्थापनको क्षेत्रमा उदाहरणीय प्रयास मानिएको छ।

     

  • १७ असार २०८२, मंगलवार १०:३९ प्रकाशित

  • Nabintech