सिमसार संरक्षण र हरियाली विस्तारका लागि सरस्वती सामुदायिक वनमा सामूहिक वृक्षारोपण

  • नमस्ते कर्णाली

  • कोहलपुर नगरपालिकामा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले सिमसार संरक्षण र हरियाली विस्तारका लागि सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पोखरीको किनारामा आयोजित वृक्षारोपण कार्यक्रममा समूहका कार्यकारी समितिका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमूहका अध्यक्षहरू तथा उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

    कार्यक्रम अन्तर्गत १५० भन्दा बढी धुपीको विरुवा लगायत अन्य प्रजातिका विरुवा रोपिएको हो । कोहलपुर सव-डिभिजन वन कार्यालयले उक्त विरुवाहरू निशुल्क उपलब्ध गराएको समूहले जनाएको छ ।

    समूह अध्यक्ष नरबहादुर मल्लले वृक्षारोपणको महत्वबारे प्रकाश पार्दै भने, “सिमसार क्षेत्र जैविक विविधताको धरोहर हो । यसको संरक्षणमा वृक्षारोपणले महत्त्वपूर्ण योगदान दिन्छ । हामीले रोपेका विरुवाहरू भविष्यमा छायाँ, पानीको शुद्ध स्रोत र वन्यजन्तुको बासस्थान बन्नेछन् ।”

    उनले सामुदायिक वनले नाफामुखीभन्दा पनि संरक्षणमुखी अभियानमा जोड दिएको बताउँदै, वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे । “हामीले आज जुन धुपी र अन्य प्रजातिका बिरुवाहरू रोपेका छौं, ती भविष्यमा प्राकृतिक सम्पदा संरक्षणको मेरुदण्ड बन्नेछन्,” मल्लले भने ।

    पोखरीको चारैतर्फ वृक्षारोपण गरिएको यस अभियानले जल स्रोत संरक्षणसँगै सिमसार क्षेत्रमा जैविक विविधताको वृद्धि, पर्यावरणीय सन्तुलन र सौन्दर्य अभिवृद्धिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी उपभोक्ताहरूले आफैं रोपेका बिरुवाको संरक्षण र हेरचाहमा निरन्तर ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

    स्थानीय उपभोक्ताको अग्रसरतामा गरिएको यस्तो अभियानले दीगो वन व्यवस्थापन र वातावरणीय चेतनाको सन्देश दिनुका साथै भविष्यका पुस्ताका लागि हरितसम्पदाको जग बसाल्ने विश्वास लिइएको छ ।

  • २० असार २०८२, शुक्रबार २१:२१ प्रकाशित

  • Nabintech