असार ६ देखि बेपत्ता भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदी किनारमा फेला

  • नमस्ते कर्णाली

  • २१, असार २०८२
    कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालकको शव भेरी नदी किनारमा फेला परेको छ।

    दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ घर भएका २९ वर्षीय हिमबहादुर विष्ट यही असार ६ गते ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरी सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार उनी मन्त्रालयको सवारी चालकका रूपमा सुर्खेतमा कार्यरत थिए।

    विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिका क्षेत्रको भेरी पुल नजिकै सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो। त्यसपछि हराएका विष्टको खोजतलास जारी रहँदा शुक्रबार बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए।

    शव भेटिएको स्थान, मोटरसाइकलको अवस्थासहितका सम्पूर्ण पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सुर्खेतमा पठाइएको छ।

    शव भेटिएसँगै घटनाबारे विभिन्न आशंका र चासो उत्पन्न भएको छ। यथार्थ पत्ता लगाउन प्रहरी थप अनुसन्धानमा जुटेको छ।

     

  • २१ असार २०८२, शनिबार ०७:०० प्रकाशित

  • Nabintech