१९ समस्याग्रस्त सहकारीका ५६ हजारभन्दा बढी बचतकर्तालाई रकम फिर्ता वितरण सुरु

  • नमस्ते कर्णाली

  • २३, असार २०८२
    काठमाडौं । लामो संघर्ष र निरन्तर दबाबपछि समस्याग्रस्त घोषित १९ सहकारी संस्थाका बचतकर्ताहरूलाई दामासाही रूपमा रकम फिर्ता दिने प्रक्रिया सुरु गरिएको छ।

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको दबाबपछि ती सहकारीका सञ्चालकहरूले व्यवस्थापन समितिमा निश्चित रकम जम्मा गरेपछि सोही रकमका आधारमा बचतकर्ताहरूलाई फिर्ता दिने कार्य अघि बढाइएको हो।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ती १९ सहकारीमा आवद्ध ५६ हजार १०६ जना बचतकर्तालाई करिब २९ करोड ८२ लाख रुपैयाँ वितरण गरिँदैछ।

    महासंघका अध्यक्ष कुशलव केसीका अनुसार यो प्रक्रिया आंशिक राहत भए पनि अझै लाखौं पीडितको पैसा अन्योलमै छ। “हामीले थालेको आन्दोलनकै कारण सहकारी प्राधिकरण जस्ता संरचना बनेका छन्, तर ती अझै सक्रिय छैनन्,” अध्यक्ष केसीले भन्नुभयो, “जबसम्म सबै पीडितले न्याय पाउँदैनन्, हाम्रो आन्दोलन जारी रहनेछ।”

    महासंघको तथ्यांक अनुसार १९ समस्याग्रस्त सहकारीका ६१ हजार ९४ जना पीडितले कुल ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ फिर्ता माग गरेका छन्। तर हालसम्म करिब ५ हजार जनालाई मात्र ३ अर्ब ४१ करोड रुपैयाँ फिर्ता दिइएको छ।

    संघीय सरकारले हालसम्म २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ। तीमध्ये ३ सहकारीबाट अघिल्लो वर्ष नै रकम फिर्ता भइसकेको समितिले जनाएको छ।

    समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार बचतकर्तालाई फिर्ता दिने रकम सहकारीको आफ्नै स्रोत, भौतिक सम्पत्ति र ऋण असुलीबाट संकलन गरी वितरण गरिनेछ। “हामी सहकारीकै पुँजी र सम्पत्तिबाट रकम जुटाएर क्रमशः सबै पीडितलाई फिर्ता दिन लागिपरेका छौं,” अध्यक्ष गौतमले बताए।

  • २३ असार २०८२, सोमबार ०८:४९ प्रकाशित

  • Nabintech