बर्दियाका ३० हजारभन्दा बढी महिला र किशोरीलाई आइरन चक्की बितरण

  • नमस्ते कर्णाली

  • २४, असार २०८२
    बाँके । पछिल्ला तीन महिनादेखि आइरन र फोलिक एसिड चक्कीको अभाव झेलिरहेका बर्दिया जिल्लाका प्रजनन उमेरका महिला र किशोरीहरूका लागि राहत मिलेको छ।

    स्वास्थ्य कार्यालय बर्दियाको अनुरोधपछि इन्रुडेक बाँकेले १० लाख आइरन चक्की उपलब्ध गराएसँगै जिल्लामा देखिएको संकट केही हदसम्म समाधान भएको हो। इन्रुडेक बाँकेले स्वास्थ्य सशक्तिकरण परियोजना अन्तर्गत जापान सरकार तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अनुदानस्वरूप चक्की उपलब्ध गराएको हो।

    स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार जिल्लामा १८ हजारभन्दा बढी गर्भवती महिला र १२ हजारभन्दा बढी किशोरी आइरन चक्कीको प्रयोगबाट वञ्चित भएका थिए। “सस्तो मूल्यमा उपलब्ध हुन सक्ने यो अत्यावश्यक औषधिको अभावले महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको थियो,” उहाँले बताउनुभयो।

    स्वास्थ्य कार्यालयको सर्वेक्षणअनुसार जिल्लाका ७० प्रतिशतभन्दा बढी किशोरीमा रक्तअल्पता (एनिमिया) देखिएको छ। नियमित आइरन चक्की सेवन गराउन नसक्दा अवस्था झन् जटिल हुँदै गएको थियो।

    आड्रा नेपालकी शिवानी भट्टराईका अनुसार अब बर्दियाको आठवटै स्थानीय तहमा आइरन चक्कीको अभाव नहोस् भन्ने सुनिश्चितताका साथ वितरण सुरु गरिएको छ। उहाँले स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूले यसलाई नियमित रूपमा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

    इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले महिलाको पोषण सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। “आर्थिक सहयोग मात्र होइन, संरचनागत सुधार र स्वास्थ्य सचेतना पनि हाम्रो कार्यक्रमको मूल उद्देश्य हो,” उहाँले भन्नुभयो।

    तर, सरकारी तहबाट औषधि खरिद प्रक्रिया ढिलो र झन्झटिलो हुँदा नियमित आपूर्ति प्रभावकारी बन्न सकेको छैन। यसले सेवाग्राहीहरूमा निराशा थपिएको छ। स्थानीय सरकारहरूले समयमै ध्यान नदिए यस्ता अभाव फेरि दोहोरिन सक्ने विज्ञहरूको चेतावनी छ।

  • २४ असार २०८२, मंगलवार १३:३३ प्रकाशित

  • Nabintech