२४, असार २०८२
बाँके ।वैदेशिक रोजगारीमा जान पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेशिने युवाको संख्या बढ्दै गएको छ। सरकारले लागू गरेको सीपयुक्त प्रमाणपत्रको नीतिले युवा वर्गलाई तालिमतर्फ आकर्षित बनाइरहेको छ।
यिनै प्रवृत्तिलाई मध्यनजर गर्दै लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपालगञ्जमा आफ्नो कार्यालय स्थापना गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै विभिन्न उद्यमशीलता विषयमा सीपमूलक तालिम सुरु गर्ने तयारी गरेको छ। संस्था अनुसार साउन १ गतेदेखि सुरु हुने तालिममा सहभागी हुनेलाई ३० प्रतिशत छुटको सुविधा दिइनेछ।
संस्थाका निर्देशक भोदुराम थारुले भने, “सकेसम्म वैदेशिक रोजगारमा जानु नपर्ने गरी युवाले सीप सिकेर स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुन्छ। जानै परे पनि दक्ष भएर जानु भविष्यका लागि फाइदाजनक हुन्छ।”
उनका अनुसार सीपसहित विदेश जानाले तलब बढी हुने, लागत कम लाग्ने र सुरक्षित वातावरणमा काम गर्ने अवसर प्राप्त हुने गर्छ। साथै, विदेशबाट फर्किएपछि त्यही सीपको उपयोग स्वदेशमै गर्न सकिने बताए।
लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.की अध्यक्ष दीपा खत्रीले पेसागत सीपले विदेश मात्र होइन, स्वदेशमै पनि रोजगारी सिर्जना गर्न सक्ने भएकाले युवालाई तालिममा जोडिन आग्रह गर्नुभयो।
उनका अनुसार काठमाडौंमा एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर र पश्चिम नेपालमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा छन्। वैदेशिक रोजगारमा जानेका लागि सरकारको रोजगारमूलक सीप विकास तालिम कार्यविधि, २०७५ अनुसार प्रमाणपत्र अनिवार्य भइसकेको जानकारी दिइएको छ।
वैदेशिक रोजगार विभागका तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। बाँके जिल्लाबाट मात्रै ६ हजार ६६० जना वैदेशिक रोजगारका लागि गएका छन्।
लियानाले वैदेशिक रोजगारमा जान चाहनेलाई सुरक्षित गन्तव्यमा पठाउने व्यवस्था पनि मिलाएको जनाएको छ। संस्था तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्दै स्वदेशमै पनि रोजगारी सिर्जना गर्न योगदान दिन इच्छुक रहेको बताइएको छ।