“लागुऔषध विरुद्ध सडक नाटक: बाँसगढीका युवाहरूको सशक्त सन्देश”

  • नमस्ते कर्णाली

  • २४, असार २०८२
    बर्दिया ।बाँसगढीका युवाहरूको सक्रियतामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना फैलाउने उद्देश्यले बाँसगढी नगरपालिका–५ अन्तर्गत दुई स्थानमा सडक नाटक मञ्चन गरिएको छ। युवा सञ्जाल बाँसगढीको आयोजनामा, बाँसगढी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय मोतिपुरको समन्वय तथा वडा कार्यालयको सहयोगमा प्रस्तुत गरिएको यो नाटक “लागुऔषध विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने नारासहित प्रस्तुत गरिएको हो।

    सडक नाटक मोतिपुर गाउँ र थारु गाउँ गरी दुई स्थानमा मञ्चन गरिएको थियो। नाटकमा साथी संगी र जिज्ञासाबाट सुरु भएको लागुऔषध दुव्र्यसन कसरी एक व्यक्तिको जीवन मात्रै होइन, उसको परिवार र समाजलाई समेत असर पार्दछ भन्ने विषयलाई प्रभावशाली रूपमा उजागर गरिएको थियो। साथै, यस्तो दुव्र्यसन नियन्त्रणमा प्रहरी, वडाध्यक्ष, अभिभावक र सम्पूर्ण समुदायको भूमिकालाई पनि गहिरो रुपमा प्रस्तुत गरिएको थियो।

    नाटकमा युवा सञ्जाल बाँसगढीका युवायुवतीहरूले जीवन्त अभिनय प्रस्तुत गरेका थिए। युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले समाजमा सकारात्मक परिवर्तन ल्याउन र विशेषगरी किशोर–किशोरीहरूलाई सचेत गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले लागुऔषधविरुद्ध सबै तहको समन्वयमा जनचेतना फैलाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    कार्यक्रममा वडा अध्यक्ष दहवा थारु, वडा सदस्य प्रकाश बराल, इलाका प्रहरी तथा अन्य जनप्रतिनिधि र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले युवाहरूमा सकारात्मक सोच र व्यवहारको विकास गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्। आयोजकहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

  • २५ असार २०८२, बुधबार ११:३७ प्रकाशित

  • Nabintech