“धिमीचौर: प्राकृतिक स्वर्गतर्फ पर्यटकको आकर्षण, तर पूर्वाधारको अभाव अझै चुनौती”

  • नमस्ते कर्णाली

  •  २८, असार २०८२
    जुम्ला ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्ला जिल्लामा पछिल्लो समय एक नयाँ पर्यटकीय गन्तव्यको रूपमा चन्दननाथ नगरपालिका–३ स्थित धिमीचौर पाटन चर्चामा आएको छ। ‘वाह! क्या स्वर्ग छ’ भन्ने अनुभूति दिने धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

    सदरमुकाम खलंगाबाट सवारीमा २५ मिनेट र पैदलयात्रामा झण्डै एक घण्टा टाढा पर्ने धिमीचौर हरियाली, फूल, खोल्साहरु र फाँटले भरिएको रमणीय स्थल हो। चेरेचौरको विशालता, बीचमा बग्ने घुघुत्ती खोलाको कलकलाहट र वरिपरिका जडीबुटी तथा फूलले ढकमक्क फाँटले यहाँ आउनेको मन मोहित बनाइरहेको छ।

    सयौँ प्रकारका फूल, दर्जनौँ जडीबुटी, खर्सुका र अन्य थरिथरिका वनस्पति, गोठालाहरूका गोठ, घोडा, भैंसी, भेडाबाख्राको बथान र परम्परागत तरिकाले बनाइएको दूध, दही, कुराउनी (नउनी) ले धिमीचौरलाई बेग्लै स्वाद र सुगन्ध दिएको छ। शुक्रबार र शनिबार यहाँ पर्यटकको भीड विशेष देखिन्छ – विद्यार्थी, शिक्षक, कर्मचारी, पर्यटक सबै पुग्ने गर्दछन्।

    तर यति सुन्दर स्थलको प्रवर्धन तथा व्यवस्थापनको अवस्था भने उस्तै पुरानै छ। यहाँ बासको व्यवस्था छैन, फोहोर व्यवस्थापन छैन, शौचालय जस्ता आधारभूत सुविधा पनि छैनन्। अमरबहादुर थापा, स्थानीय बासिन्दा, भन्छन् – “पर्यटकले प्रयोग गरेका चाउचाउ, पानीका बोतल, प्लास्टिक जथाभावी फालेर धिमीचौर कुरुप बन्दै गइरहेको छ।”

    जयलाल बानियाँ, अर्का स्थानीय, भन्छन् – “धिमीचौरको संरक्षण गरियो भने यो जुम्लाको आयआर्जनको बलियो स्रोत बन्न सक्छ। नगरपालिकाले थोरै चासो दियो भने यहाँ धेरै गर्न सकिन्छ।”

    यसै सन्दर्भमा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा भन्छन् – “धिमीचौरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीतिमा समेटिएको छ।” तर, पूर्वाधार निर्माण कहिले हुने भन्ने प्रश्न भने अझै खुल्ला छ।

    रारा ताल जाने र फर्किने क्रममा अब धेरै पर्यटक धिमीचौर पनि पुग्ने गरेका छन्। उनीहरूद्वारा बनाइएका भिडियो, टिकटक र सामाजिक सञ्जालमार्फत प्रचार हुँदै गएपछि धिमीचौर थप चिनिँदै गएको छ।

    तर, धिमीचौरको सौन्दर्यलाई दीगो बनाउन स्थानीय सरकारको लगानी, संरचना निर्माण, जनचेतना र व्यवस्थापन अपरिहार्य देखिएको छ।

  • २८ असार २०८२, शनिबार ०८:३५ प्रकाशित

  • Nabintech