बैतडी । बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप शुक्रबार बिहान साढे ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीया कलमा धामी, ३२ वर्षीय किरण बोहरा, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट र चालक २४ वर्षीय सन्तोष बहादुर राना रहेका छन्।
प्रहरीका अनुसार चालक सन्तोष, कलमा धामी र किरण बोहराको अवस्था गम्भीर छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासीले घाइतेको उद्दार गरेका थिए। सबैलाई पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ भने गम्भीर घाइतेलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ।
जीप सडकबाट करिब १०० मिटर तल खसेर भिरमा अडिएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।