“अब काठमाडौं जानु पर्दैन, कोहलपुरमै गुणस्तरीय शिक्षा” — जीवनज्योती स्कुलमा नवआगन्तुक विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    २८, असार २०८२
    बाँके । “काठमाडौंको जस्तो शिक्षा अब कोहलपुरमै सम्भव छ।” यही सन्देशसहित बाँकेको कोहलपुरस्थित जीवनज्योती स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    शनिबार सम्पन्न कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक उद्देश्य, संरचना, र आगामी योजना बारे जानकारी दिँदै नेपाल क्याथोलिक परिषद्का प्रशासनिक प्रमुख फादर सिलास बोगटीले विद्यालय विगतदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा काठमाडौंको जस्तो गुणस्तरीय शिक्षा दिन जीवनज्योती स्कुल पूर्ण रूपमा सक्षम रहेको धारणा राख्नुभयो।

    उहाँले भन्नुभयो, “सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक सीप पनि अहिलेको शिक्षाको अनिवार्य पाटो हो। जीवनज्योती स्कुलले दुवै पक्षमा विशेष ध्यान दिँदै आएको छ, अब कोहलपुरमा नै काठमाडौंको स्तरको शिक्षा पाउने वातावरण बनेको छ।”

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले नवआगन्तुक विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै विद्यालयले किताबी ज्ञानसँगै संस्कार, अनुशासन र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्रन सक्ने क्षमताको विकासमा जोड दिँदै आएको बताउनुभयो।

    “हामी यहाँको शैक्षिक गुणस्तरमा कुनै पनि कमी गर्न चाहँदैनौं। विद्यार्थीले जहाँ गएर पनि आफूलाई प्रमाणित गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो। उहाँले उत्कृष्ट शिक्षक टिम, व्यवस्थित कक्षा कोठा, प्रयोगशाला, खेल मैदान र यातायात सुविधा सहितको शिक्षण वातावरणको चर्चा गर्दै शिक्षासँगै नैतिकता र संस्कारलाई पनि केन्द्रमा राखिने बताउनुभयो।

    विद्यालयका प्रशासन प्रमुख कल्याण तिमिल्सिनाका अनुसार यस शैक्षिक सत्रमा विज्ञान संकायमा १२० जना र व्यवस्थापन संकायमा ४० जना विद्यार्थीले भर्ना लिएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले गुणस्तरीय शिक्षासँगै संस्कार र जीवन उपयोगी शिक्षामा जोड दिँदै आएको हुँदा विद्यार्थी र अभिभावकको आकर्षण वर्षेनि बढ्दै गएको छ।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत र नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। कार्यक्रमको संयोजन शिक्षक चेत चापागाईंले गर्नुभएको थियो।

    जीवनज्योती स्कुलले २०८० सालदेखि विज्ञान तथा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। अतिरिक्त क्रियाकलापमा पनि सशक्त पहिचान बनाएको यस विद्यालयले शिक्षा र संस्कारको समन्वयमार्फत गुणस्तरीय शैक्षिक भविष्य निर्माणमा योगदान दिँदै आइरहेको छ।

     

  • २८ असार २०८२, शनिबार २२:१६ प्रकाशित

  • Nabintech