नक्कली नोट र लागुऔषध प्रकरणमा संलग्न सहसचिव सहकारी पदमुक्त, संगठनद्वारा कडा कारबाही

  • नमस्ते कर्णाली

  • ३२, असार २०८२

    बाँके ।अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशले संगठनका सहसचिव तथा जनगर्जन नेटवर्कका सञ्चालक मनबहादुर सहकारीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।

    सहकारीलाई नक्कली नोट र लागुऔषध (अफिम) सहित प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएपछि संगठनको मर्यादा, प्रतिष्ठा र पत्रकारिताको आचारसंहिताप्रतिको सम्मानका आधारमा यो निर्णय गरिएको हो।

    संघकी प्रदेश सचिव साबित्री गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अनलाइन टिभी पत्रकार संघमा केवल मर्यादित, उत्तरदायी र आचारसंहिताको पालना गर्ने पत्रकार मात्र रहन सक्नेछन्। समाजमा विकृति फैलाउने र पत्रकारिताको नैतिकता उल्लंघन गर्ने कुनै व्यक्तिलाई संघले स्थान दिने छैन।”

    संघले यस्ता गतिविधिको पुनरावृत्ति भएमा पनि कडा निर्णय लिन पछि नपर्ने चेतावनी दिएको छ। साथै, सबै सदस्य पत्रकारलाई आचारसंहितामा रही पेशागत जिम्मेवारी निर्वाह गर्न अपिल गरिएको छ।

     

  • १ श्रावण २०८२, बुधबार १३:३१ प्रकाशित

  • Nabintech