१, साउन २०८२
जुम्ला ।जिल्ला अदालत जुम्लाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको छ। पत्रकारहरूसँग सार्वजनिक गरिएको वार्षिक प्रगति प्रतिवेदनअनुसार हाल अदालतमा ९८ वटा मुद्दा मात्र बाँकी रहेका छन्।
प्रगति विवरण अनुसार चालु वर्षमा जम्मा ३११ वटा मुद्दामध्ये २१३ वटा टुंगोमा पुगेका हुन्। तीमध्ये १९२ वटा मुद्दा नयाँ दर्ता भएका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारीमा रहेका ११९ मुद्दा पनि यस वर्ष समाधानका प्रक्रियामा थिए।
जिल्ला अदालतका श्रेष्तेदार महेन्द्र पौडेलका अनुसार विगत वर्षहरूमा पनि क्रमिक रूपमा मुद्दा फछ्र्यौटको दर बढ्दै आएको छ। आर्थिक वर्ष २०७९/०८० मा ६०.६४ प्रतिशत र २०८०/०८१ मा ६१.८६ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए।
जिल्ला न्यायाधीश आनन्दप्रसाद पन्तले न्याय क्षेत्र सत्य र तथ्यको आधारमा अगाडि बढ्ने बताउँदै पत्रकारिता र न्याय क्षेत्रबीच नजिकको सम्बन्ध रहेको उल्लेख गरे। उनले अदालतको काम, समस्याबारे सूचित गराउने उद्देश्यले पत्रकारहरूसँग अन्तरक्रिया गरिएको स्पष्ट पारे।
न्यायाधीश पन्तका अनुसार अदालतको कार्ययोजना अनुरूप सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाइएको छ। म्याद तामेली अनलाइन प्रणालीमार्फत गर्न थालिएको छ भने पेशी सुची पनि डिजिटल डिस्प्ले बोर्डमार्फत उपलब्ध गराइने गरिएको छ। साथै, विपन्न तथा ससक्त व्यक्तिहरूका लागि निशुल्क वैतनिक कानून व्यवसायीको व्यवस्था गरिएको छ।
बालबालिकासम्बन्धी मुद्दा फछ्र्यौटमा अदालतले उल्लेखनीय सफलता पाएको छ। प्रतिवेदन अनुसार चालु वर्षमा दर्ता भएका ८ र अघिल्लो वर्षका १० गरी कुल १८ वटा बालबालिकासम्बन्धी सबै मुद्दा फछ्र्यौट गरिएको छ।
सरकारी फौजदारी मुद्दाहरूमा पनि प्रगति देखिएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, चोरी, लागुऔषध कारोबार, वालयौन दुव्र्यवहार तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दाहरूमा अधिकांश टुंगोमा पुगेका छन्।
मेलमिलापमा पठाइएका ५४ मुद्दामध्ये ११ वटामा मेलमिलाप भएको अदालतले जनाएको छ।
कार्यक्रममा पत्रकारहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसमा जिल्ला न्यायाधीश आनन्दप्रसाद पन्त, श्रेष्तेदार महेन्द्र प्रसाद पौडेल, सरकारी वकिल अनिलकुमार रेग्मी, निशुल्क कानूनी सहायता केन्द्रका अधिवक्ता नन्दबहादुर खत्री, वैतनिक वकिल विकास शाही लगायतले प्रस्ट पार्नुभएको थियो।
जिल्ला अदालत जुम्लाको सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।