बिमितलाई ‘रिफर’ अनिवार्य: भेरीसहित बाँकेका चार अस्पतालमा मात्रै स्वास्थ्य बीमा सेवा

  • नमस्ते कर्णाली

  • १, साउन २०८२
    बाँके ।नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले बाँके जिल्लाका चारवटा अस्पताललाई मात्रै बीमासम्बन्धी उपचार सेवा प्रदान गर्नसक्ने प्रेषण केन्द्रका रूपमा निर्धारण गरेको छ। बोर्डले भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई बीमा अन्तर्गतको सेवा प्रदान गर्नसक्ने प्रेषण अस्पतालको रूपमा कायम गरेको हो।

    यो निर्णयसँगै अब ती अस्पतालहरूले बीमामा आवद्ध र अन्य प्रथम सेवा विन्दुबाट विधिवत रूपमा ‘रिफर’ भई आएका बिरामीलाई मात्र उपचार सेवा प्रदान गर्ने भएका छन्। भेरी अस्पतालले बुधवार एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी अन्य स्वास्थ्य संस्थाबाट प्रेषण पूर्जा लिएर मात्र आउने बीमित सेवाग्राहीलाई उपचार गरिने जानकारी दिएको छ। अस्पतालको सूचनामा स्पष्ट भनिएको छ कि बीमा सेवा लिन चाहने सेवाग्राहीले सम्बन्धित प्रथम सेवा केन्द्रबाट प्राप्त आधिकारिक प्रेषण पूर्जा लिएर मात्र भेरी अस्पतालमा सेवा लिन सक्नेछन्।

    बीमा बोर्डले बाँके जिल्लामा चारवटा संस्थालाई प्रथम सेवा विन्दुका रूपमा तोकेको छ, जसमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। बीमित बिरामीहरूले अब यी सेवा विन्दुहरूमा गएर प्रारम्भिक उपचार सेवा लिनुपर्नेछ र आवश्यक परेमा त्यहाँबाट प्रेषण पूर्जा लिई मात्र प्रेषण केन्द्रतर्फ जान सक्नेछन्।

    यस निर्णयले अत्यधिक चाप रहेका भेरी अस्पताल वा मेडिकल कलेजमा घण्टौँ लाइन बस्ने अवस्थाबाट केही राहत दिलाउने अपेक्षा गरिएको छ, तर बिरामीहरूका लागि भने सहजता र गुणस्तरीय सेवाको पहुँचमा असर पर्ने देखिएको छ। विशेषगरी नेपालगञ्ज क्षेत्रका बिमित नागरिकहरूले साधारण स्वास्थ्य समस्या लिएर पनि अब सिधै भेरी अस्पताल जान नपाउने, बरु कोहलपुर, खजुरा वा नरैनापुरजस्ता स्थानमा पुगेर पहिलो सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ।

    यसअघि बीमितले सिधै भेरी अस्पतालमा गएर सेवा लिने गरेका थिए, तर नयाँ व्यवस्थाले प्रक्रियालाई अनावश्यक रूपमा जटिल बनाएको गुनासो पनि जनस्तरमा सुनिन थालेको छ। बीमा बोर्डले सेवा व्यवस्थापन गर्न यस्तो निर्णय लिएको भएपनि नागरिकको पहुँच, सहजता र सेवा गुणस्तरलाई सन्तुलनमा राख्ने खालको स्पष्ट कार्ययोजना आवश्यक देखिन्छ।

     

  • २ श्रावण २०८२, बिहीबार ०९:३१ प्रकाशित

  • Nabintech