भूमिहीनका लागि राहत: कांग्रेस उपसभापति खड्काद्वारा भूमिसम्बन्धी ऐन संशोधन र स्थायित्वको प्रतिबद्धता

  • नमस्ते कर्णाली

  • ३, साउन २०८२

    सुर्खेत। नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकको समस्या समाधानका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन्।

    लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहीनलाई लालपुर्जा वितरण गर्दै खड्काले चाँडै दलहरूबीच छलफल गरी भूमि सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए।

    “सरकार जनताका समस्याप्रति संवेदनशील छ, भूमि अधिकतम उपयोग गरी व्यावसायिक कृषि र आर्थिक समृद्धिको बाटो रोज्नुपर्छ,” खड्काले भने।

    उनले जनप्रतिनिधिप्रति जनताको असन्तुष्टि रहेको उल्लेख गर्दै, “जनताको कुँडिएको मनमा मलम लगाउनुपर्ने बेला आएको छ,” भने।

    खड्काले चुनावको बेलामा आकर्षक घोषणापत्र ल्याउने तर काम नगर्ने प्रवृत्तिप्रति पनि आलोचना गर्दै त्यसले मतदातालाई निराश बनाएको बताए।

    गठबन्धन सरकारको स्थायित्वबारे बोल्दै उनले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरे। “एमाले अध्यक्ष केपी शर्मा ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ,” उनले स्पष्ट पारे।

    उपसभापति खड्काले आफ्नो उपप्रधानमन्त्रीकालमा लालपुर्जा वितरणमा लाग्ने २०० प्रतिशतसम्मको राजस्व घटाएर ५ देखि १० प्रतिशतमा झारेको स्मरण पनि गरे।

    भूमिसम्बन्धी ऐन संशोधन र स्थायीत्वको सन्देशसँगै खड्काले सरकारले मुलुकलाई समृद्ध बनाउने दिशामा काम गरिरहेको बताएका छन्।

  • ४ श्रावण २०८२, शनिबार ०८:४० प्रकाशित

  • Nabintech