५, साउन २०८२
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा बृहत विद्यालय सुरक्षा मापदण्डसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ। समाज जागरण केन्द्र (स्याक नेपाल) को आयोजना, युनिसेफ नेपालको आर्थिक सहयोग र खाँडाचक्र नगरपालिकाको समन्वयमा सञ्चालित तालिममा नगरपालिका भित्रका १५ वटा विद्यालयका सम्पर्क शिक्षकहरुको सहभागिता रहेको थियो।
तालिमको उद्देश्य विद्यालयलाई विपद् तथा प्रकोपको जोखिमबाट सुरक्षित बनाउने, जलवायु परिवर्तनका असरबारे शिक्षकमार्फत जानकारी पुर्याउने र विद्यालयमा व्यवहारिक अभ्यासमार्फत जोखिम न्यूनीकरणको तयारी गर्न सकिने वातावरण बनाउनु रहेको थियो। स्याक नेपालका शिक्षा अधिकृत परेकलाल बुढाका अनुसार, हरित विद्यालय अवधारणासहित जलवायु अनुकूलन र न्युनिकरणका अभ्यास, कानुनी र नीतिगत पक्ष, तथा विद्यालय सुरक्षा योजना निर्माणमा तालिम केन्द्रित रहेको थियो।
तालिम खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईंको अध्यक्षतामा उद्घाटन गरिएको थियो। तालिममा गंगाराम दाहालले प्रशिक्षण दिएका थिए।
पंचदेव माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद पाण्डेका अनुसार, तालिमले शिक्षकहरुलाई विद्यालयस्तरमा सम्भावित भूकम्पीय जोखिम, आगलागी, पहिरो जस्ता विपद्का सम्भावित अवस्थालाई पूर्वतयारीका साथ कसरी व्यवस्थापन गर्ने भन्ने महत्वपूर्ण जानकारी दिएको छ। सहभागी शिक्षकहरूले तालिमपछि विद्यालयस्तरमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्दै, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यान्वयनमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
शिक्षा क्षेत्रमा जोखिम न्यूनीकरण र सुरक्षित सिकाइ वातावरण निर्माणतर्फ यो तालिम एक महत्वपूर्ण पाइला सावित भएको खाँडाचक्र नगरपालिका र आयोजक संस्थाले जनाएका छन्।