“मोफ्ला गाउँमा पहिलोपटक गाडी पुगेपछि उत्सवको माहोल: वर्षौंको सपना पूरा”

  • नमस्ते कर्णाली

  • ६, असार २०८२
    जुम्ला ।जुम्ला जिल्लाको हिमाको विकट बस्ती मोफ्लामा पहिलोपटक गाडी पुगेको छ। यससँगै वर्षौंदेखि यातायात सुविधाबाट वञ्चित स्थानीयवासीको सपना साकार भएको छ।

    हिमा गाउँपालिका–३ मा पर्ने मोफ्ला गाउँमा गाडी पुग्नेबित्तिकै स्थानीय बासिन्दाले हर्षोल्लासपूर्वक स्वागत गरेका छन्। जुम्लाको सिंजा–६ भाडगाउँका जीप चालक भीमबहादुर बुढालाई फूलमाला र अबिरले स्वागत गरिएको दृश्यले गाउँमा चाडपर्वको झल्को दिएको थियो।

    छिमेकी तिला गाउँपालिका अन्तर्गत कुँडारी–रुम्तु हुँदै खोलिएको २६ किलोमिटर ट्र्याकमार्फत मोफ्ला गाउँमा गाडी पुगेको हो। यसै मार्गले जोगीबाडा र चेमा गाउँका बासिन्दा पनि लाभान्वित हुनेछन्।

    स्थानीय अगुवा गोपाल रोकायाका अनुसार मोफ्ला, चेमा र जोगीबाडा गरी तीनवटा गाउँका करिब ५०० घरधुरी प्रत्यक्ष लाभमा पर्नेछन्। अब ती गाउँबाट जुम्लाको सदरमुकाम खलंगासम्म डेढ घण्टामा पुग्न सकिने भएको छ।

    “हामी वर्षौंदेखि सडकमै गाडी देख्ने रहरमा थियौं, अब त गाडी गाउँमै आयो,” स्थानीय वृद्ध ७६ वर्षीय करविरे रोकाया भन्छन्, “सडक बन्ला भन्ने पनि सोचेका थिएनौं, अब त गाडी नै गुडेको देख्दा सपना जस्तै लागिरहेको छ।”

    हालसम्म मोफ्ला गाउँ सडकमार्गबाट जोडिन नसक्नुको प्रमुख कारण हिमा नदीमा पुल नबन्नु हो। देवारगाउँ–मोफ्ला जोड्ने पक्की पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि स्रोत सुनिश्चित हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो।

    सडक तिला गाउँपालिका, पूर्वाधार विकास कार्यालय जुम्ला, र सघन शहरी तथा भवन डिभिजन कार्यालयको सहयोगमा निर्माण भएको हो।

    सडक पुगेसँगै यहाँ उत्पादित कृषि बाली – सिमी, आलु, स्याउ, चिनाे, कागुनाे लगायतका उपजहरू अब बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसअघि यातायात नहुँदा यिनै उपज कुहिने अवस्था आउने गरेको थियो।

    स्थानीयले अब गाउँमै उत्पादन भएको फलफूल तथा अन्नबाली सहजै बिक्री गर्न सकिने भन्दै आफ्नो जीवनशैलीमा आर्थिक सुधार आउने विश्वास व्यक्त गरेका छन्।

    यस सडकले गाउँमा मात्र होइन, सम्पूर्ण हिमामा समृद्धिको बाटो खोल्ने अपेक्षा गरिएको छ।

  • ७ श्रावण २०८२, मंगलवार ०८:११ प्रकाशित

  • Nabintech