७, साउन २०८२
सुर्खेत। जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेर भत्किएका सरकारी संरचना निर्माण कार्य सुरु भएको छ । आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) जाजरकोटले जिल्लाका ३३ सरकारी कार्यालय निर्माण गर्न लागेको छ ।
कार्यालय प्रमुख खडगबहादुर चौधरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २३ भवनको ठेक्का लागेकोमा १७ भवनको काम सुरु भएको थियो । उक्त आवमा नौ कार्यालयको काम सुरु गर्न लागिएको उनले जानकारी दिए । अघिल्लो आवमा अधिकांश काम सुरु गर्ने भनिए पनि केही योजना संशोधन गर्नुपर्ने भएकाले ढिला भएको उनले बताए ।
प्रमुख चौधरीले भने, “चालु आवमा बाँकी नौ वटाको काम सुरु हुने छ । साउनभित्र प्राविधिक कुरा मिलाउँछौँ । थोरै जनशक्तिले पनि काम जारी राखेका छौँ ।”
चालु आवमा जिल्ला अदालत, जाजरकोट दरबारलगायतको निर्माण कार्य अघि बढाइने उनले बताए । प्रदेशस्तरका कार्यालयसमेत भत्किएकाले यसबारे प्रदेश सरकारसँग छलफल भइरहेको प्रमुख चौधरीले बताए । यस कार्यालयले जाजरकोट, रुकुम पश्चिम र सल्यानस्थित सरकारी कार्यालय निर्माण गर्ने जिम्मेवारी पाएको छ । भूकम्पले भत्किएका भौतिक संरचनाका कारण सेवा दिन समस्या भइरहेको समयमा आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) जाजरकोटले कामलाई तीव्रता दिएको छ ।
प्रदेशले निर्माण गरेका संरचनामा ८० प्रतिशत प्रगती
प्रदेश सरकारले स्वास्थ्य संस्था र सरकारी विद्यालय निर्माणको काम थालेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तीन जिल्लाका स्वास्थ्य संस्था र विद्यालय निर्माण कार्य अगाडी बढाएको थियो ।
पूर्वाधार विकास कार्यालय मार्फत सरकारी स्वास्थ्य संस्था र विद्यालय निर्माणको काम सुरु भएको हो । आर्थिक वर्ष २०८१/८२ देखि नै विद्यालय र स्वास्थ्य संस्था निर्माणको काम थालिएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । जाजरकोटको बारेकोटमा पाँच विद्यालय, नलगाडमा चार, भेरीमा तीन, छेडागाडमा तीन, कुशेमा पाँच, शिवालयमा पाँच र जुनिचाँदेमा पाँच विद्यालयको निर्माण कार्य जारी छ ।
त्यस्तै स्वास्थ्य संस्थातर्फ बारेकोटमा दुई, नलगाडमा दुई, भेरीमा दुई, छेडागाडमा तीन र जुनिचाँदेमा दुई स्वास्थ्य संस्थाको काम प्रदेश सरकारले गर्दै आएको छ । सत्तरी प्रतिशतको हाराहारीमा काम भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीले जानकारी दिए ।
यस्तै सल्यानको दार्मा गाउँपालिकामा चार विद्यालय तथा कुमाख र बागचौरमा एक एक स्वास्थ्य संस्था निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नविन थापाले ८० प्रतिशत काम भएको र बाँकी २० प्रतिशत काम दसैँसम्म पूरा हुने जानकारी दिए ।
रुकुम पश्चिममा चौरजहारी नगरपालिकामा चार, बाँफिकोटमा तीन, त्रिवेणीमा पाँच, मुसीकोटमा चार, आठबीसकोटमा ६ र सानीभेरीमा पाँच विद्यालय तथा सानीभेरीमा दुई, आठबीसकोटमा दुई र चौरजहारीमा एक स्वास्थ्य संस्थाको निर्माण कार्य जारी छ । यहाँको भौतिक प्रगती ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी महेन्द्रबहादुर शाहीले जानकारी दिए । हालसम्म रु १६ करोडको काम भएको कार्यालय प्रमुख रामचन्द्र विसीले जानकारी दिए ।