९, साउन २०८२
जुम्ला।जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी गाउँमा भाइरल ज्वरो फैलिएपछि स्वास्थ्यकर्मीको टोली पुगेर दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ। गाउँमा ज्वरो, रुघाखोकीजस्ता लक्षण देखा पर्न थालेपछि साउन ५ गतेदेखि स्वास्थ्य शाखाले तत्कालै चिकित्सक टोली खटाएको थियो।
हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर रावतको नेतृत्वमा गएको स्वास्थ्य टोलीले स्थानीय बासिन्दा र नेत्र ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको हो। शिविरमा कुल २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ, जसमा १५४ जना महिला र १२६ जना पुरुष सहभागी थिए।
स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार, तीव्र रुपमा ज्वरो, टाउको दुख्ने, रुघाखोकीलगायतका लक्षण देखिएपछि भाइरल संक्रमणको आशंका गरिएको छ। शिविरमा संलग्न डा. प्रेम ओलीले ती लक्षणहरू भाइरल इन्फेक्सनसँग मिल्दोजुल्दो देखिएकाले थप पुष्टि गर्न आवश्यक परीक्षण अघि बढाइएको जानकारी दिए।
उनका अनुसार सम्भावित संक्रमितमध्ये १० जनाको स्वाब संकलन गरि कर्णाली प्रदेश प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। संक्रमितको पहिचान भइसकेपछि आवश्यक औषधोपचार र नियन्त्रणका उपायहरू अघि बढाइनेछ।
स्थानीय बासिन्दाले समयमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गरेकोमा राहत महसुस गरेका छन्। गाउँपालिकाले संक्रमणलाई फैलन नदिन सतर्कता अपनाउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।