१२, साउन २०८२
बाँके ।आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन वन कार्यालय बर्दियाको मातहतमा रहेका २८५ सामुदायिक वनमध्ये १३६ सामुदायिक वनहरूबाट १४ हजार ६ सय रुख कटान गरिएको छ। ती वन क्षेत्रहरूबाट कुल ५ लाख २ हजार ८३१ घन फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।
साथै, सामुदायिक वन क्षेत्रबाट १ हजार ९१ चट्टा दाउरा उत्पादन भएको र यसमध्ये ५९६ दशमलव ४० चट्टा दाउरा बिक्री गरिएको उल्लेख छ। काठको आन्तरिक बिक्री, आपूर्ति समिति र लिलामी प्रक्रिया मार्फत बर्दियामा मात्र २ लाख ८३ हजार ४०७ दशमलव ९५ घन फिट काठ बिक्री गरिएको तथ्यांकमा उल्लेख गरिएको छ।
बर्दियाका ८९ सामुदायिक वनमध्ये ८५ वटा सामुदायिक वनमा वन सुदृढीकरण कार्यक्रम कार्यान्वयन गरिएको छ। वन कटानी बढेसँगै राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि भएको छ। डिभिजन वन कार्यालयका अनुसार बर्दियाबाट मात्रै लुम्बिनी प्रदेश सरकारलाई ३ करोड ४० लाख ३३ हजार ५४० रुपियाँ र सङ्घीय सरकारलाई १ करोड ३ लाख ७ हजार १०१ रुपियाँ राजस्व संकलन भएको छ।
वन व्यवस्थापन, संरक्षण र सन्तुलनको सवालमा भने यस्ता कटानी र निकासीले दीर्घकालीन असर पार्ने विषयमा सरोकारवालाहरूले सतर्क रहनुपर्ने देखिएको छ।