१३,साउन २०८२
बाँके ।बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित कालाफाँटा स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अब २४ घण्टा सहज रूपमा प्रसूति सेवा सञ्चालनमा आउने भएको छ।
वैकल्पिक ऊर्जा स्रोतको रुपमा जडान गरिएको ३.७५ किलोवाट क्षमताको सोलार प्रणालीले स्वास्थ्य चौकीमा अनियमित विद्युत् आपूर्तिका कारण भइरहने समस्या समाधान गर्ने विश्वास लिइएको छ।
स्वास्थ्य चौकीका इन्चार्ज महम्मद तैयब राइमका अनुसार पहिले विद्युत् आपूर्ति अनियमित हुँदा विशेष गरी प्रसूति सेवा सञ्चालनमा गम्भीर समस्या हुने गर्थ्यो। “अब सोलार जडान भइसकेको छ, विद्युत् समस्या समाधान भएको छ,” उहाँले भन्नुभयो, “अब प्रसूति सेवा २४ घण्टा सहज रूपमा सञ्चालन हुनेछ।”
उहाँका अनुसार सोलार जडानसँगै फ्रीज, प्रसूति सेवा उपकरण, इ–हाजिरी, इरिपोर्टिङ, इएलएमएस रिपोर्टिङलगायत सबै सेवा नियमित सञ्चालनमा आउने छन्।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसी ‘नमुना’ले वैकल्पिक ऊर्जाका लागि ५ लाख रुपैयाँको बजेट विनियोजन गर्नुभएको थियो। उक्त रकममार्फत ऊर्जा विकास कार्यालयको समन्वयमा सोलार जडान गरिएको स्वकीय सचिव सूर्यप्रकाश घर्तीमगरले जानकारी दिनुभयो।
स्थानीयस्तरमै २४ सै घण्टा सुरक्षित मातृ सेवा उपलब्ध गराउने दिशामा सोलार जडान महत्वपूर्ण उपलब्धि सावित हुने अपेक्षा गरिएको छ।