१३, साउन २०८२
दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई साेमवार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएकाे हाे ।
उहाँले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
`साल बसाली योजनामा रकमान्तरण नगर्नुहोस् । धेरै पहाड भत्काएर काम गर्नुको सट्टा आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गर्नुहोस्´ मुख्यमन्त्रीले भन्नुभयो ।
उहाँले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनुभयो ।
जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्व बढाउन आग्रह गर्नुभयो ।
समिक्षा कार्यक्रमकाे उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको छ ।