१४, साउन २०८२
दाङ।लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो ।
`सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।´
मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । `जुन लक्ष्य र उद्देश्य राखिएको छ, त्यसअनुसार किसान एप कार्यान्वयनमा लैजान जरुरी छ´उहाँले भन्नुभयो-`प्रदेशका मुख्य तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ । गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पुर्याउन सकिन्छ ।´
यस्तै सूचना तथा सञ्चार प्रविधिको सेवा लक्षित वर्गले उपयोग गर्न सक्ने गरी विस्तार गर्न पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिनुभएको छ ।
बैठकमा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषद्का पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो । बैठकमा डेटा सुरक्षालाई प्राथमिकता दिँदै काम गर्न जोड दिइएको थियो ।