“डेङ्गीमुक्त वीरेन्द्रनगर अभियान सुरु : सबै १६ वडामा लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सञ्चालन”

  • नमस्ते कर्णाली

  • १४, साउन २०८२

    सुर्खेत ।वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र बढ्दो डेङ्गी संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सबै १६ वडामा लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सुरु गरेको छ। साउन महिनासँगै डेङ्गीको जोखिम उच्च हुँदै गएकाले नगरपालिकाले जनचेतना, समुदाय परिचालन र प्रजनन स्थलको खोजी तथा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको हो।
    नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीका अनुसार, एडिज जातका लामखुट्टे वयस्क नहुँदासम्मको करिब ८० प्रतिशत जीवनचक्र पानी वा पानीको सतहमै रहने हुँदा संक्रमण रोक्न प्रजनन स्थल नै नष्ट गर्नु अनिवार्य रहेको बताए। लामखुट्टेको बासस्थान नष्ट नगरी मात्र उडिरहेका लामखुट्टेलाई लक्षित गरेमा संक्रमण नियन्त्रण गर्न नसकिने उनको भनाइ छ।
    गत वर्ष मात्रै वीरेन्द्रनगरमा १,४१६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो। शहरीकरण बढेसँगै संक्रमणको जोखिम पनि उच्च बन्दै गएको भन्दै उनले साउनदेखि कार्तिकसम्मको समयमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरे। कम्तीमा हप्ताको एक पटक सबै वडामा समन्वितरूपमा लामखुट्टेको बासस्थान खोजी र सफाइ अभियान चलाइने जानकारी दिए।
    जनस्वास्थ्य कार्यालय, सुर्खेतकी प्रमुख करुणा भट्टराईले साउन महिनालाई डेङ्गी सचेतना महिनाका रूपमा मनाउँदै, देशभर व्यापक जनचेतना फैलाउने र भ्रम हटाउने लक्ष्यसहित अभियान अघि बढाइएको बताइन्। संघीय सरकारबाट घोषित अभियानमा स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
    नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर क्षेत्रलाई डेङ्गीमुक्त बनाउने लक्ष्यसहित नगर अस्पताल र लाटिकोइली स्वास्थ्य केन्द्रमार्फत निःशुल्क जाँचको व्यवस्था मिलाइएको जानकारी दिइन्। अभियानलाई सफल बनाउन टोल विकास संस्था, विद्यालय, सञ्चारमाध्यम, जनप्रतिनिधि, कर्मचारी तथा आमनागरिक सबैको योगदान आवश्यक रहेको उनले बताइन्

  • १५ श्रावण २०८२, बुधबार ०९:०४ प्रकाशित

  • Nabintech