१६, साउन २०८२
बाँके । बाँके जिल्लामा पर्याप्त वर्षा नहुनुका बाबजुद पनि यस वर्ष ९०.९ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ। यो उपलब्धिको मुख्य श्रेय राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनालाई दिइएको छ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार, बाँके, बर्दिया लगायतका तराईका जिल्लामा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा अधिकांश ठाउँमा रोपाइँ प्रभावित भएको छ। तर बाँकेमा सिक्टा सिँचाइ आयोजनाबाट नहरहरू सञ्चालनमा आएसँगै किसानहरूले नहर तथा मोटरद्वारा पानी तानेर सफलतापूर्वक रोपाइँ गर्न सकेका छन्।
“सिक्टाको नहर सञ्चालनमा आइसकेकोले अब किसानहरूले आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्था अन्त्य भएको छ,” अधिकृत बस्नेतले भन्नुभयो। उहाँले थप जानकारी दिँदै नरैनापुर र जानकी गाउँपालिकामा नहर नपुगेका कारण अन्य पालिकाहरूको तुलनामा रोपाइँ केही कम भएको उल्लेख गर्नुभयो।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यका अनुसार आयोजनाबाट हालसम्म २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। पश्चिमी र पूर्वी मूल नहरसँगै शाखा नहरहरू प्रयोग गरी किसानहरूले पानी तानेर खेती गरेका छन्। बाँकेमा कुल ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गर्छ, जसमा २२ हजार हेक्टर सिक्टा सिँचाइले, र करिब ७ हजार हेक्टरमा अन्य बोरिङ तथा सिँचाइ माध्यमबाट सेवा पुगेको हो।
राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासङ्घ बाँकेका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाको पूर्ण निर्माणपछि अकाशको भरमा खेती गर्ने बाध्यता पूर्ण रूपमा अन्त्य हुने दाबी गर्नुभयो। उहाँका अनुसार यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।
सिक्टा सिँचाइ आयोजनाको प्रभावकारी कार्यान्वयनले बाँके जिल्लालाई आत्मनिर्भर कृषि प्रणालीतर्फ अग्रसर गराउँदै लगेको स्पष्ट संकेत गरेको छ।