महिला क्रिकेटर ममता थापा ग्लोबल युनी नेटवर्कको ब्रान्ड एम्बासडर नियुक्त

  • नमस्ते कर्णाली

  • १६, साउन २०८२

    बाँके ।महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वउपकप्तान ममता थापा ‘ग्लोबल युनी नेटवर्क’ को ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। बिहीबार कोहलपुरमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका कोहलपुर कार्यालयका डाइरेक्टर नवीनराज बुढा क्षेत्रीले उनलाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गर्नुभएको हो।

    समारोहमा दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरी आदान–प्रदानसमेत गरिएको थियो। कम्पनीका डाइरेक्टर बुढा क्षेत्रीका अनुसार थापा नेपाली महिला क्रिकेटको गौरवशाली नाम मात्र नभई स्थानीय स्तरमा समेत प्रेरणादायी खेलाडी भएकाले ब्रान्ड एम्बासडरको रूपमा छनोट गरिएको हो।

    ११ देशको अनुभव, सयभन्दा बढी खेल
    थापाले हालसम्म ११ देशको भ्रमण गर्दै सयभन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेट म्याच खेलिसकेकी छन्। उनले आफ्नो खेल जीवनको अनुभवलाई समाज र युवा पुस्तासँग बाँड्दै अघि बढ्न पाउने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।

    ‘म निकै खुसी छु,’ थापाले भनिन्, ‘अहिलेसम्म पुरुष क्रिकेटरहरू धेरैजना ब्रान्ड एम्बासडर भइरहनुभएको थियो। महिला खेलाडीहरूमा भने गननै थोरै छन्। अब म पनि त्यस सूचीमा समावेश हुन पाउँदा गर्व लागिरहेको छ।’

    उनका अनुसार यस नियुक्तिले न केवल कम्पनीको ब्रान्ड प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ, बरु महिला क्रिकेटको पहुँच विस्तार तथा प्रचारमा समेत सकारात्मक भूमिका खेल्नेछ।

    महिला खेलाडीप्रतिको सम्मानको सन्देश
    कम्पनीले ममताजस्तो स्थापित महिला खेलाडीलाई प्रतिनिधित्व गराउनु, महिला खेलकुद क्षेत्रमा सकारात्मक सोच र सम्मानको सन्देश भएको ठानिएको छ।

    थापाले अन्त्यमा भनिन्, ‘यो जिम्मेवारी मलाई थप उर्जा र उत्साह दिनेछ। म कम्पनीको छवि निर्माणसँगै नेपाली महिला क्रिकेटको उज्यालो भविष्य निर्माणतर्फ पनि क्रियाशील रहनेछु।’

    यसरी, ग्लोबल युनी नेटवर्क र ममता थापाबीचको सहकार्यले एकातर्फ व्यवसायिक विश्वमा सशक्त सन्देश पुर्‍याउनेछ भने अर्कोतर्फ महिला खेलाडीको सम्मान र पहिचान बढाउनेमा टेवा पुग्ने विश्वास लिइएको छ।

  • १७ श्रावण २०८२, शुक्रबार १७:०० प्रकाशित

  • Nabintech