बाँकेमा एक वर्षमै १३८ वन्यजन्तुको उद्धार, सर्पको संख्या सबैभन्दा बढी

  • नमस्ते कर्णाली

  • १८, साउन २०८२
    बाँके । डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानबाट विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको छ। घाइते, टुहुरा, बाटो बिराएर मानव बस्तीमा प्रवेश गरेका र संकटमा परेका अवस्थामा रहेका वन्यजन्तुलाई सुरक्षित रुपमा उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार गरिएका वन्यजन्तुहरूमध्ये सबैभन्दा बढी सर्प छन्।

    उद्धार गरिएका १०७ वटा सर्पमध्ये ४५ वटा गोमन, २४ वटा करेत, १७ वटा रसेल भाइपर, १५ वटा धामन, ४ वटा पाठी सर्प र २ वटा फरेस्टन क्याट स्नेक रहेका छन्। यस्तै, १५ वटा अजिङ्गर, ३ वटा सुन गोहोरो, ३ वटा मगर गोही, १ वटा चितुवा, २ वटा चित्तल, १ वटा रतुवा, १ वटा जरायो र ५ वटा रातो बाँदरको पनि उद्धार गरिएको छ।

    उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पुनःस्थापना गरिएको र केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा समेत पठाइएको जानकारी दिँदै वरिष्ठ अधिकृत पोख्रेलले घाइते जनावरहरूलाई उपचारपछि मात्र पुनःस्थापनाको व्यवस्था गरिएको बताए। जङ्गलमा आहाराको अभाव, बासस्थानमा मानवीय गतिविधिको वृद्धि र बाटो बिराएर मानव बस्तीमा प्रवेशजस्ता कारणले वन्यजन्तुहरू संकटमा पर्ने गरेकोले यस्ता उद्धार कार्यहरूलाई नियमितरूपमा अघि बढाइएको उहाँको भनाइ छ।

    पछिल्ला वर्षहरूमा बाँकेमा वन्यजन्तुको उद्धारको संख्या उल्लेख्य रूपमा बढ्दो क्रममा रहेको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्ष २०८०/८१ मा ९९ वटा, २०७९/८० मा ४२ वटा, २०७८/७९ मा ३१ वटा, २०७७/७८ मा ३४ वटा र २०७६/७७ मा १७ वटा वन्यजन्तु उद्धार गरिएको थियो। यसले वन्यजन्तु संकटमा परेको अवस्था र वन कार्यालयको सक्रियता दुवैलाई झल्काउँछ। वन्यजन्तुको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वातावरणीय सन्तुलनका लागि यस्तो उद्धार कार्यले सकारात्मक प्रभाव पारेको छ।

     

  • १९ श्रावण २०८२, आईतवार ०८:०१ प्रकाशित

  • Nabintech