१८, साउन २०८२
बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हाे ।
‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले याे बिषयमा संवेदनशील बन्न जरुरी छ।’
लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उउहाँले जोड दिनुभयाे । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैंले बनाउनु पर्छ,’ उहाँले भन्नुभयाे ।
मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पार्नु भयाे ।
उहाँले मिडिया संस्थाको संख्या वृद्धि भएकाे सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेकाे बताउनु भयाे। ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौं । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उहाँले भन्नुभयाे ।
मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गर्नुभयाे ।
‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताउनु भयाे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनु भयाे ।
लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताउनु भयाे । उहाँले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकाेमा जाेड दिनुभयाे ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउने गरी काम गर्नुपर्ने बताउनु भयाे ।
चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताउनु भयाे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आ-आफ्नाे धारणा राख्नु भएको थियाे । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीकाे नेतृत्वमा रहेकाे कार्यसमितिले
नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेकाे कार्यसमितिलाई पद हस्तान्तरण गरेकाे थियाे ।