१९, साउन २०८२
काठमाडौँ।भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजनाको शुभारम्भ गरिएको छ । नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापनलाई सुदृढ बनाउन संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमको सहयोगमा भारतले नयाँ सहयोगी पहल सुरु गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
भारत सरकारको विदेश मन्त्रालयले यही १६ गते नयाँ दिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा हो । नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पिडीएस) सँग ज्ञान आदानप्रदानलाई सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति शृङ्खलामा विशेषगरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन र दक्ष कार्यबलमा रहेका समस्यालाई सम्बोधन गर्ने बताइएको छ । यस परियोजनाले नेपालका सरोकारवालाहरूलाई कुशल खाद्य आपूर्ति शृङ्खला व्यवस्थापनका लागि डिजिटल प्रविधिहरूको उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्दछ ।
यसमा लाभार्थी व्यवस्थापन, भण्डारण र वितरण मोडेलहरू, अनुगमन तथा मूल्याङ्कन प्रणालीहरू र गुनासो निवारण संयन्त्रहरू समावेश छन् । यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरण आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नतामा केन्द्रित हुनेछ । दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञहरूद्वारा संक्षेपीकरणसहित नेपाली अधिकारीहरूका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ ।
तेस्रो तथा अन्तिम चरण कार्ययोजनाको विकासमा केन्द्रित हुनेछ । यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रममार्फत कार्यान्वयन गरिनेछ । सन् २००१ यता तीन हजारभन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आइटेक कार्यक्रमअन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाको ७८औँ सत्रको समयमा सन् २०२३ सेप्टेम्बरमा भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलको घोषणा गरिएको थियो । यो घोषणापछि दिगो विकासका लक्ष्यहरू (एसडिजीज)को उपलब्धिलाई तीव्र बनाउन दक्षिण–दक्षिण सहकार्यलाई बढावा दिने परियोजनाहरूको पहिचान र कार्यान्वयन गर्न भारतको विदेश मन्त्रालय र भारतमा रहेको संयुक्त राष्ट्रसङ्घको टोलीले संयुक्त रूपमा काम गरेको थियोे ।
भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत कार्यान्वयनका लागि पहिचान गरिएका चार परियोजनामध्ये विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना एक रहेको छ ।
यो परियोजनाले भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिविम्बित गर्दछ । यसले दक्षिण–दक्षिण सहकार्यमार्फत नवप्रवर्तनहरू साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई सुदृढ बनाउने बताइएको छ ।