२०, साउन २०८२
बाँके ।स्वास्थ्यमा सुधार र वातावरण संरक्षणका उद्देश्यसहित कोहलपुर नगरपालिकाले विद्युतिय सहायताबाट चल्ने सुधारिएको चुलो वितरण सुरु गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ५०० वटा चुलो वितरण गर्ने लक्ष्यसहित मंगलवार वडा नं. २ मा वितरण कार्यक्रमको सुरुवात गरेको हो।
कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले स्थानीय उर्मिला घर्तीलाई चुलो हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो। उहाँले चुलो वितरणले व्यक्तिगत स्वास्थ्य सुधारसँगै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
“धुँवा ननिस्कने भएकाले सुधारिएको चुलोले स्वास्थ्यमाथिको असर कम गर्छ, कोइला र काठको खपत घटाउँछ, वातावरणमा हरितगृह ग्यास उत्सर्जन पनि न्यूनीकरण हुन्छ,” कार्यबाहक नगर प्रमुख सुवेदीले भन्नुभयो, “यो चुलो विशेष गरी विपन्न र जोखिममा रहेका समुदायका लागि राहतदायी हुने अपेक्षा छ।”
पहिलो चरणमा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला र आर्थिक रूपमा कमजोर वर्गलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ। चुलो प्राप्त गर्ने लाभग्राहीलाई यसको सही प्रयोग गर्नसमेत आग्रह गरिएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा वितरण गरिने चुलोको मूल्य पाँच हजार ९८७ रुपैयाँ रहेको छ। सो मध्ये ८० प्रतिशत खर्च केन्द्रले, १५ प्रतिशत नगरपालिका र बाँकी ५ प्रतिशत लाभग्राहीले व्यहोर्ने व्यवस्था गरिएको छ।
हाल कोहलपुर नगरपालिकाका १५ वटै वडामा ३०/३० वटा चुलो वितरण गरिनेछ। विद्युतिय चुलोले परम्परागत इन्धनको विकल्प दिनुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य र वातावरणमैत्री जीवनशैलीको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।