बाँकेमा डेंगी र स्क्रबटाइफसको संक्रमण तीव्र: तीन महिनामा दर्जनौं संक्रमित, बालबालिकामा बढी प्रभाव

  • नमस्ते कर्णाली

  • २०, साउन २०८२
    बाँके । बाँके जिल्लामा डेंगी र स्क्रबटाइफसको संक्रमण तीव्र रूपमा देखिन थालेको छ। पछिल्लो तीन महिनामा २९ जनामा डेंगी पुष्टि भएको छ भने ८९ जनामा स्क्रबटाइफसको शंकास्पद लक्षण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
    नेपालगञ्जस्थित भेरी अस्पताल, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका स्वास्थ्य संस्थामा डेंगी र स्क्रबटाइफसका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ।
    भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार, बाँके, बर्दिया, दाङ र कैलाली लगायतका जिल्लाबाट डेंगी तथा स्क्रबटाइफसका बिरामी भर्ना हुने क्रम बढ्दो छ। डेंगीका सामान्य लक्षणमा अचानक ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी र जोर्नी दुख्ने लगायत छन्। “डेंगु बिरामीको हड्डी दुख्ने लक्षण भएकाले यसलाई ‘हड्डी–तोड ज्वरो’ पनि भनिन्छ,” डा. पाण्डेले जानकारी दिनुभयो।
    डा. पाण्डेले डेंगी संक्रमण सामान्यतः ४ देखि ७ दिनभित्र निको हुने बताए पनि संक्रमितमध्ये ५ प्रतिशतमा गम्भीर समस्या देखिन सक्ने जनाउनुभयो। साथै एडिज प्रजातिको लामखुट्टेबाट फैलिने यो रोग प्रायः दिउँसो टोक्ने र गर्मी–वर्षायाममा यसको जोखिम उच्च हुने उहाँको भनाइ छ।
    यस्तै कान्ति आरोग्य अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रोमा बोरा अनुसार, पछिल्लो समय डेंगी र स्क्रबटाइफस दुबै रोगले बालबालिकामा गम्भीर असर पारेको छ। उहाँले भन्नुभयो, “डेंगीको जोखिम लामखुट्टेको प्रभाव क्षेत्रसँग जोडिएको छ। साथै स्क्रबटाइफस साना कीराको टोकाइबाट सर्ने संक्रामक रोग हो, जसका प्रारम्भिक लक्षण अन्य सामान्य ज्वरोसँग मिल्दोजुल्दो हुने हुँदा समयमै परीक्षण नभए अवस्था जटिल हुन सक्छ।”
    डा. बोरा अनुसार, स्क्रबटाइफस संक्रमणको ६ देखि १४ दिनपछि लक्षण देखिन थाल्छन्। प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान देखिन्छ।
    स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमका अनुसार, पछिल्लो तीन महिनामा ५२८ जनाको डेंगी परीक्षण गरिँदा २९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये नेपालगञ्ज उपमहानगरपालिकाका १८ र कोहलपुर नगरपालिकाका ११ जना रहेका छन्।
    उपचारका लागि भेरी अस्पतालमा १९ जना र कोहलपुर मेडिकल कलेजमा ३ जना बिरामी भर्ना भएका छन्। स्क्रबटाइफसको ७२९ नमुना परीक्षण गर्दा ८९ जनामा शंकास्पद लक्षण देखिएको गौतमले जानकारी दिनुभयो।
    गत वर्ष बाँकेमा ९ हजार ९३८ नमुना परीक्षण गर्दा ४१ जनामा मात्र डेंगु पुष्टि भएको थियो। यस वर्षको तीन महिनामै २९ जनामा पुष्टि हुनु संक्रमण दर तीव्र रूपमा बढेको संकेत हो।
    डेंगी र स्क्रबटाइफस दुबै लामखुट्टे र कीराको टोकाइबाट फैलिने भएकाले सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ। स्वास्थ्यकर्मीहरूका अनुसार, लामखुट्टेको वृद्धि हुने स्थानमा पानी जम्न नदिनु, शरीरलाई टोकाइबाट जोगाउने लुगा लगाउनु तथा ज्वरो आएको खण्डमा तुरुन्त परीक्षण गराउनु सबैभन्दा प्रभावकारी उपाय हो।
    स्वास्थ्य विशेषज्ञहरूको सुझाव अनुसार, समयमै पहिचान, परीक्षण र उपचार नै यी रोगहरूबाट जोगिने प्रमुख उपाय हुन्।

  • २१ श्रावण २०८२, मंगलवार १९:२९ प्रकाशित

  • Nabintech