वित्तीय साक्षरताले उज्ज्वल भविष्यको बाटो खोल्छ : गरिमा विकास बैंकद्वारा तालिम सम्पन्न:८५ विद्यार्थी सहभागी

  • नमस्ते कर्णाली

  • २१, साउन २०८२
    बाँके।गरिमा विकास बैंक लिमिटेडको आयोजनामा बाँकेको श्री बाल ज्योती सेकेन्डरी स्कुल, एन.टि.भी रोड, कोहलपुर–११ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कक्षा १० मा अध्ययनरत ८५ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचत, ऋण व्यवस्थापन र डिजिटल वित्तीय सेवाहरूको आधारभूत जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा गरिमा विकास बैंक, चप्परगौडी शाखाका प्रबन्धक श्री विष्णु पौडेलले विद्यालय तहदेखि नै वित्तीय साक्षरताको अभ्यास गरिनु आवश्यक रहेको बताए। उनले भने, “वित्तीय साक्षरता भनेको आर्थिक श्रोत–साधनको प्रभावकारी उपयोग गर्ने ज्ञान हो, जसले व्यक्तिलाई भविष्यको आर्थिक संकटबाट बचाउन सहयोग गर्छ।”

    कार्यक्रममा विद्यालयका सल्लाहकार श्री मधुसुधन न्यौपाने, विद्यालयका मावि इन्चार्ज प्रकाश मरासिनी, तथा गरिमा विकास बैंकका कर्मचारी चन्द्रा कुमारी गुरुङ र हेमन्त लम्सालले सहजीकरण गरेका थिए।

    वक्ताहरूले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै व्यक्तिको मात्र नभई परिवार, समाज र राष्ट्रको समुन्नतिका लागि पनि यस्तो ज्ञान अपरिहार्य रहेको उल्लेख गरे। कार्यक्रममा विद्यार्थीहरूलाई बचतका लाभ, ऋणको जिम्मेवार उपयोग, बैंकिङ प्रक्रिया, खाता सञ्चालन, शेयर बजारका आधारभूत ज्ञान लगायतका विषयमा जानकारी दिइएको थियो।

    बचत आर्थिक सुरक्षाको आधार हो भन्ने कुरामा जोड दिँदै वक्ताहरूले दैनिक खर्च नियन्त्रण, उचित लगानी रणनीति र वित्तीय निर्णय लिन सक्ने क्षमताको विकास आवश्यक रहेको बताए।

    विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गराउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्‍यो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रमको समापनमा विद्यालय प्रशासनले गरिमा विकास बैंक र सहजीकरण गर्ने प्रशिक्षकहरूप्रति आभार प्रकट गरेको थियो।


     

  • २२ श्रावण २०८२, बुधबार ०९:५६ प्रकाशित

  • Nabintech