२१, साउन २०८२
हुम्ला।चंखेली गाउँपालिका–६ स्थित चरीगाउँमा अज्ञात रोग फैलिँदा गाई, गोरु र बाच्छासहित ६० भन्दा बढी पशु चौपायाको ज्यान गएको छ। विगत दुई सातादेखि फैलिएको यो रोगले गाउँका कृषकहरूमा त्रास फैलिएको छ भने ठूलो आर्थिक क्षति समेत पुगेको छ।
चरीगाउँका प्रमसिंह सिराका अनुसार अज्ञात रोगले पशुवस्तुहरूमा पेट र छाती सुनिने, दिशा पिसाब गर्न नसक्ने, घाँस नखाने, र्याल चुहिने, र दिशा–पिसाबमा रगत देखिने लक्षण देखापरेका छन्।
यस अज्ञात महामारीले गाउँका विभिन्न टोलहरूमा गम्भीर असर पारेको छ। लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा ६, धुन्देउमा ८, रातामाटामा ९, र लाङ्गोरमा ५ वटा गाई, गोरु र बाच्छाहरू मरेको जानकारी स्थानीयले दिएका छन्।
सिंहले बताएअनुसार, अहिले खेतीपातीको व्यस्त समय भएको र खेत जोत्न गोरु समेत नबच्दा कृषकहरू बिचल्लीमा परेका छन्। अधिकांश चौपाया अहिले लेखतिरको खर्कमा लानुपर्ने समयमा मरेपछि लेखतिरको जङ्गलसमेत दुर्गन्धित बनेको स्थानीयले बताएका छन्।
कृषकहरूका अनुसार खर्कबाट पशु बिरामी भएको खबर आएपछि चंखेली गाउँपालिकाको पशुशाखामा पटकपटक धाउँदा पनि न त औषधि पाइयो, न त स्वास्थ्यकर्मी नै भेटिए। सिराले दुखेसो पोख्दै भने, “हप्तौंपछाडि गए पनि चौबीसै घण्टा ढोका बन्द, रित्तो हात फर्कनुपर्यो।”
औषधि अभाव भएपछि अर्का कृषक सुरसिंह सिराले करिब १० हजार रुपैयाँ खर्च गरेर सदरमुकाम सिमकोटबाट निजी रूपमा औषधि ल्याएर उपचार गर्नुपरेको बताए।
स्थानीयवासीहरूका अनुसार चालु आर्थिक वर्ष सुरू भएसँगै गाउँपालिकाबाट तोकिएका पशु स्वास्थ्यकर्मीहरू सेवा दिन गाउँमै नआएको र बिरामी पशु चौपायाको तत्काल उपचारको व्यवस्था नभएकाले अवस्था भयावह बन्दै गएको छ।
अहिले चंखेली गाउँपालिकासहित जिल्लाका अन्य खर्कहरूमा पनि अज्ञात रोगका कारण पशु चौपायाको मृत्यु दर बढिरहेको भन्दै स्थानीय कृषकहरूले तत्काल राहत र औषधोपचारको माग गरेका छन्। स्थानीय सरकारसँग कृषकहरूको माग:अज्ञात रोग पहिचान गर्न विशेषज्ञ टोली पठाउन,तत्काल औषधि आपूर्ति र उपचार सेवा सुरू गर्न र स्थायी पशु स्वास्थ्य सेवा सुनिश्चित गर्न रहेको छ।
यसप्रकारको लापरवाहीले कृषकहरूमा राज्यप्रति गुनासो बढ्दै गएको छ। कृषि र पशुपालनमै निर्भर चंखेलीका गाउँलेहरूलाई संकटको घडीमा सरकारको ध्यान जानु जरुरी देखिन्छ।