२२, साउन २०८२
कालिकोट । लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अन्ततः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कालिकोटको गगने खोलामा खसेको लेदो र ढुंगासहितको पहिरो हटाई सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार मंगलबार दिउँसोदेखि अवरुद्ध भएको सडक बुधबार बिहान ७ बजेदेखि दुई वटा जेसिबी मेसिन प्रयोग गरेर करिब ११ बजे खुलाइएको हो। तर दिउँसो २ बजेतिर पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको थियो। त्यसपछि फेरि प्रयास गरेर लेदो हटाइएपछि यातायात एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
सडक खुलेसँगै कर्णाली करिडोर हुँदै सुर्खेतबाट माथिल्लो पहाडी जिल्लातर्फ जाँदै गरेका र जुम्ला, कालिकोट, मुगु, बाजुरा हुँदै सुर्खेततर्फ झर्दै गरेका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। तर, यात्रुहरू भने अझै सास्तीमा छन्।
“पहिरो झर्छ, मेसिन पठाउँछ, केही समय खुल्छ, फेरि बन्द हुन्छ,” भन्छिन् जुम्लाबाट सुर्खेत लागेकी यात्रु ज्योतिसरा बुढा।
उनका अनुसार यात्रा अत्यन्त कठिन र जोखिमपूर्ण छ। “सबैभन्दा बढी महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगहरूलाई समस्या छ। हिड्न गाह्रो छ, बाहिर झर्यो भने माथिबाट ढुंगा खस्ने डर पनि हुन्छ,” उनले भनिन्।
त्यस्तै अर्का यात्रु धन्ननाल रावतको गुनासो थियो —
“ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट कर्णालीबासी कहिले मुक्त हुने हो?”
उनले संघीयतामा गएपछि पनि कर्णालीका नागरिकहरूको दुःख घट्न नसकेको उल्लेख गरे।
कालिकोट-जुम्ला सडकखण्डमा पर्ने खाँडाचक्र र तिलागुफा नगरपालिकाका विभिन्न तीन स्थानमा सोमबार बेलुकी र मंगलबार दिउँसो खसेको पहिरो हटाइसकिएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालयले पहिरोको बढी जोखिम रहेका स्थानहरूमा स्थायी रूपमा दुई वटा जेसिबी मेसिन तयारी अवस्थामा राखेको छ। यद्यपि, लगातारको वर्षाले सडक नियमित सञ्चालनमा ल्याउन कठिन भएको बताइएको छ।
स्थानीय र यात्रुहरूको माग छ— कर्णाली राजमार्गको दीर्घकालीन सुधार र सुरक्षित यात्रा सुनिश्चित गरियोस्, ताकि हरेक वर्षको वर्षायाममा ज्यान जोखिममा पारेर यात्रा गर्न नपरोस्।