२३, साउन २०८२
बाजुरा । बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका पूर्व शिक्षामन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको उद्धार अझै सम्पन्न हुन सकेको छैन।
नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भए पनि लगातारको मौसम प्रतिकूलताका कारण उद्धार रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आपतकालीन उद्धारका लागि सेनाको हेलिकप्टर दुई दिनदेखि सदरमुकाम मार्तडीस्थित ईश्वरी बक्स गुल्ममा तयारी अवस्थामा राखिएको भए पनि उडान सम्भव भएको छैन।
काठमाडौँको गोकणेश्वर-५ निवासी ओझा करिब ७ सय मिटर तल भीरमा खसेका कारण उद्धार कार्य निकै कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो। उहाँका अनुसार, दुर्गम भौगोलिक स्थिति र खराब मौसमका कारण उद्धार कार्य अवरुद्ध भएको हो।
ओझा बिहीबार राति बडिमालिका दर्शन गरेर फर्कने क्रममा करिब एक घण्टाको दूरी तल झर्दै गर्दा भीरबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा उहाँ परिवारका पाँच सदस्यसँगै यात्रा गरिरहेका थिए।
शक्तिपीठका रूपमा प्रसिद्ध बडिमालिका मन्दिरमा आज विशेष पूजा हुँदैछ। हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन यहाँ विशेष पूजाको आयोजना हुने परम्परा रहेको छ।