बाह्य पर्यटकलाई भित्र्याउने र धेरैदिन भ्रमणकाे वातावरण बनाउन जरुरी छ:मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • २४, साउन २०८२
    बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाह्य पर्यटक भित्र्याई उनीहरूलाई प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा धेरै दिनसम्म भ्रमण गराउने वातावरण सिर्जना गर्न अपरिहार्य रहेको बताउनु भएको छ ।

    लुम्बिनी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रशस्त धार्मिक र पर्यटकीय गन्तव्यहरू भए पनि ती क्षेत्रहरूमा आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता अझै कायम रहेकाे बताउनु भएको हाे ।

    सैनामैनामा आयाेजित एक महिने श्री शिव महापुराण श्रृङ्गारिक महोत्सव, नन्दी प्राणप्रतिष्ठा तथा बोलबम महा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयाे`जबसम्म हामी बाह्य पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्र्याउन सक्दैनौं, तबसम्म पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुँदैन । अहिले पनि बाह्य पर्यटकहरू आइरहेका छन्, तर उनीहरूलाई रोक्न सकिरहेका छैनौं । त्यसैले घुम्न लायक गन्तव्यहरू निर्माण गर्न जरुरी छ ।´

    धार्मिक स्थलहरूको विकासमा संघ, प्रदेश र स्थानीय तहको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरूको समुचित विकास गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको हाे । समृद्ध लुम्बिनीकाे आकांक्षा पर्यटन क्षेत्रकाे विकासबाट सम्भव रहेकाे चर्चा गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशलाइ जाेड्न लुम्बिनी पर्यटन सर्किटकाे याेजना बनाएको समेत बताउनु भयाे । तराई, पहाड र हिमाल रहेकाे लुम्बिनी प्रदेशमा यहि विविधतायुक्त भूगोलले समेत पर्यटकलाई आकर्षित गर्न सक्ने आधार रहेकाे समेत उल्लेख गर्नुभयाे ।

  • २५ श्रावण २०८२, शनिबार १२:४० प्रकाशित

  • Nabintech