लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणपीडित २८९ परिवारलाई १ करोड १९ लाख राहत वितरण

  • नमस्ते कर्णाली

  • २५, साउन २०८२
    बाँके ।लुम्बिनी प्रदेशमा वन्यजन्तुको आक्रमणबाट प्रभावित २८९ घरपरिवारलाई १ करोड १९ लाख १२ हजार ३५२ रुपियाँ राहत वितरण गरिएको छ। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१–०८२ मा बर्दिया, बाँके, दाङ र अर्घाखाँचीका पीडितलाई राहत उपलब्ध गराएको हो।

    मन्त्रालयका अनुसार मानवीय क्षति भएका २० जनालाई ७९ लाख ७६ हजार २३२ रुपियाँ, २६८ वटा पशुपक्षी क्षति भएका परिवारलाई ३९ लाख ३४ हजार ५०० रुपियाँ, र कृषि बालीमा क्षति भएका एक किसानलाई १,६२० रुपियाँ राहत दिइएको छ।

    सबैभन्दा धेरै राहत बर्दिया जिल्लाका १३६ पीडितलाई प्रदान गरिएको छ। जसमा मानवीय क्षति भएका १५ जनालाई ५८ लाख ६ हजार ३०० रुपियाँ र १२१ वटा पशुपालन क्षतिपीडितलाई १२ लाख ३० हजार ५०० रुपियाँ राहत उपलब्ध गराइएको छ।

    त्यसैगरी, बाँके जिल्लामा दुई जना मानवीय पीडितलाई १८ लाख र ३६ वटा पशु क्षतिपीडितलाई ९ लाख १२ हजार ५०० रुपियाँ राहत दिइएको छ। अर्घाखाँची जिल्लामा ११० जना पशुपीडित किसानलाई १७ लाख ८१ हजार ५०० रुपियाँ राहत वितरण गरिएको छ। दाङ जिल्लामा तीन जना मानवीय क्षतिपीडितलाई ३ लाख ६६ हजार ९३२ रुपियाँ, एक जना पशुपीडित किसानलाई १० हजार र एक जना कृषि बाली क्षतिपीडितलाई १,६२० रुपियाँ राहत दिइएको छ।

    लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुशील सुवेदीका अनुसार यो राहत विगत तीन वर्षदेखि रोकिएको वितरणलाई समेटेर प्रदान गरिएको हो। उहाँका अनुसार राहत प्रक्रियामा झन्झटिलो प्रकृया र लामो समय लाग्ने भएकाले केही जिल्लाबाट सिफारिस नै नआउने गरेको पनि देखिएको छ।

  • २६ श्रावण २०८२, आईतवार ०६:५५ प्रकाशित

  • Nabintech