२५, साउन २०८२
बाँके ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको संयुक्त अनुगमन गरेको छ। नरैनापुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भ तथा सीमाको अवस्थाबारे अवलोकन गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली, लेखा अधिकृत, इन्जिनियर र नापी कार्यालयका प्रतिनिधिहरूको टोली सीमास्थल पुगेको हो।
बाढी–डुबान प्रभावित नरैनापुर क्षेत्रमा नदीनालाले सीमा स्तम्भ बगाउने जोखिम रहेकाले संयुक्त अनुगमन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए। उनका अनुसार नरैनापुरस्थित ६४१ नम्बरको सीमा स्तम्भ जीर्ण अवस्थामा पुगेकाले तत्काल मर्मत आवश्यक छ। बाँकेको ६५ किमी सीमावर्ती क्षेत्रमा ३२ मुख्य र २७९ सहायक गरी ३११ वटा सीमा स्तम्भ रहेका छन्।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमामा सशस्त्र प्रहरीले सीमित स्रोतसाधनमा पनि निरन्तर सुरक्षा दिँदै आएको उल्लेख गर्दै, गाउँपालिका पनि सहकार्यका साथ सुरक्षामा सक्रिय रहने बताए।
सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बीओपी) स्थापना भएसँगै नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती प्रभावकारी भएको स्थानीयको भनाइ छ। नरैनापुर–१ का रोज अलि जोलाहले सुरक्षाकर्मीको सशक्त उपस्थिति पछि एसएसबीको अघोषित कब्जाको समस्या हटेको बताए। उनका अनुसार साना विवादहरू पनि दुवै देशका सुरक्षाकर्मीको छलफलमार्फत समाधान हुने गरेका छन्।
स्थानीयवासी जोलाहले नरैनापुरमा छोटी भन्सार पुनः सञ्चालन भए जनतालाई ठूलो राहत हुने विश्वास पनि व्यक्त गरे।