युवालाई उद्यममा जोड्ने कर्णाली प्रदेशको योजना

  • नमस्ते कर्णाली

  • २५, साउन २०८२
    सुर्खेत । कर्णालीका युवालाई उद्यममा जोड्ने योजना बनाइएको छ । प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गर्ने गरी युवालाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको हो । युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो ।
    उक्त योजना अन्तर्गत यो वर्षदेखि कार्यान्वयन हुने गरी युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवर्धन गर्न ‘स्टार्टअप फन्ड र बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्न लागिएको छ । यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।  युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जाको कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ ।

    यसअघि प्रदेश सरकारले युवाका सवाल समेट्ने गरेको भएपनि छुट्टै शीर्षकमा बजेट भने विनियोजन गर्ने गरेको थिएन । चालु आवमा युवालक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ । रोजगारमुखी वातावरण नहुनु, लगानीका सम्भावित क्षेत्र पहिचान नहुनु, राज्यसँग स्रोतको अभाव हुनु, सार्वजनिक निजी साझेदारी प्रभावकारी नहुनु, युवामा पनि उद्यमशीलताको सोच विकास नभई जागिरे मानसिकता हाबी हुनाले ठुलो सङ्ख्यामा युवा बिदेसिने गरेका छन् ।  अर्कातिर उत्पादनका क्षेत्रमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माणमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ ।

    राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । तीमध्ये आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिलाको सङ्ख्या रहेको छ । कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सक्रिय रोजगारको सङ्ख्या छ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्याङ्क छ ।

  • २६ श्रावण २०८२, आईतवार ०७:१६ प्रकाशित

  • Nabintech