मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापक–कर्मचारीको मागप्रति चासो नदिएको भन्दै वैचारिक संघ–संगठनको संयुक्त एक्यवद्धता

  • नमस्ते कर्णाली

  • २७, साउन २०८२

    बाँके ।मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत १० वटा आंगिक क्याम्पस समायोजन भएसँगै क्याम्पसमा देखिएका समस्या ऐन, नियमावली, नीति र विधिअनुसार तत्काल समाधान हुनुपर्नेमा विश्वविद्यालयले हालसम्म कुनै चासो नदेखाएको भन्दै वैचारिक संघ–संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

    वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका प्राध्यापक तथा कर्मचारी संघ इकाई समितिले अन्य ९ आंगिक क्याम्पससँगै २०८२ साल साउन १४ गतेदेखि आफ्ना पाँच बुँदे माग राखी आन्दोलन सुरु गरेका थिए। तर, विश्वविद्यालयले जायज माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै क्याम्पसमा क्रियाशील वैचारिक संघ–संगठनहरूले पूर्ण एक्यवद्धता जनाएका हुन्।

    संयुक्त विज्ञप्तिमा करार, घटुवा र आंशिक पदमा लामो समयदेखि कार्यरत प्राध्यापक तथा कर्मचारीलाई स्थायीकरण नगरी निरन्तर अन्याय गरिएको उल्लेख गरिएको छ।

    मागहरू:

    १. २०७५ भदौ १० गतेको आठौं विश्वविद्यालय सभाको निर्णय र सम्बन्धित नियमावली अनुसार विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने।

    २. घटुवा गरिएको प्राध्यापक तथा कर्मचारीलाई साविक पदमै पदस्थापन गर्नुपर्ने।

    ३. पूर्ण कक्षाभार भएका आंशिक प्राध्यापक र ज्यालादारी कर्मचारीलाई तत्काल पूर्णकालीन नियुक्ति दिनुपर्ने।

    ४. सेवा अवधि पुगेका उप–प्राध्यापक तथा कर्मचारीको बढुवा प्रक्रिया तत्काल अघि बढाउनुपर्ने।

    ५. करार भर्नामा केन्द्रिय र आंगिक क्याम्पसबीच भइरहेको विभेद अन्त्य गर्नुपर्ने।

    संयुक्त वक्तव्यमा माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिइएको छ।

    वक्तव्यमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा र नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष अनुप शाहीको हस्ताक्षर रहेको छ।

  • २८ श्रावण २०८२, मंगलवार ०७:५७ प्रकाशित

  • Nabintech