आसन्न निर्वाचनका लागि कर्णालीमा एमालेको उम्मेदवार सिफारिस टुंगो, १२ क्षेत्रका ३१ नाम केन्द्रमा पठाइयो

  • नमस्ते कर्णाली

  • २८, पुस २०८२

    सुर्खेत ।आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाएको छ। एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका १० वटै जिल्लाबाट सिफारिस भई आएका नामहरूलाई कुनै हेरफेर नगरी केन्द्रीय कमिटीमा पठाएको जनाएको छ।
    कर्णाली प्रदेशमा रहेका १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट ३१ जनाको नाम सिफारिस भई प्रदेश कमिटीमा आएको थियो। एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईका अनुसार जुम्ला, सल्यान, रुकुम पश्चिम तथा सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस भएको छ।

    जुम्लाबाट शान्तिलाल महत, सल्यानबाट प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दलाल देवकोटा तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट ध्रुवकुमार शाही र क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष कुलमणि देवकोटाको नाम एकल सिफारिसमा परेको छ।
    बाँकी जिल्लाहरूमा बहुविकल्पीय नाम सिफारिस भएका छन्। हुम्लाबाट केन्द्रीय सदस्य दल रावल र दल फडेरा, डोल्पाबाट जिल्ला अध्यक्ष लंक रोकाया, केन्द्रीय सदस्य बद्मीक्वाँरी बोहरा र पूर्णबहादुर डाँगी सिफारिस भएका छन्। मुगुबाट राजबहादुर कार्की, पूर्ण रोकाय, गोपाल बम, बालचन्द्र विश्वकर्मा, खड्गराज मल्ल, कर्णशिला मल्ल र जनादेवी भामको नाम प्रदेश कमिटीमा आएको छ।
    दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट रविन्द्र शर्मा, नन्दकिशोर बस्नेत र लिला विसी तथा क्षेत्र नम्बर २ बाट विष्णु रिजाल, लक्ष्मी पोखरेल र अम्बिका बोहराको नाम सिफारिस गरिएको छ। जाजरकोटबाट निरज आचार्य, नारायण घर्ती, डम्बर सिंह, गणेश थापा र कौशिला खत्री तथा कालीकोटबाट नगीन्द्र शाही ‘नेशनल’, वकिल बम र सिता शाही सिफारिस भएका छन्।
    उपाध्यक्ष पछाईका अनुसार जिल्लाबाट आएका सबै ३१ नाम प्रदेश कमिटीले जस्ताको तस्तै केन्द्रीय कमिटीमा पठाएको हो। “केही जिल्लामा नाम संशोधन भए पनि प्रदेशमा आएका नाममा हामीले कुनै परिवर्तन गरेका छैनौं,” उनले भने।

    अनुभवीदेखि नयाँ अनुहारसम्म

    एमालेले सिफारिस गरेका उम्मेदवारहरू विभिन्न राजनीतिक पृष्ठभूमिका छन्। कतिपयले प्रदेश तथा प्रतिनिधि सभामा अनुभव बटुलेका छन् भने केही पार्टीको प्रदेश र जिल्ला नेतृत्वमा सक्रिय रहेका छन्।
    जुम्लाबाट एकल सिफारिस भएका शान्तिलाल महत हाल जिल्ला अध्यक्ष हुन्। सल्यानका गुलाबजंग शाह २०७४ को प्रदेश सभा निर्वाचनबाट निर्वाचित भई संसदीय दलको प्रमुख सचेतकसमेत भइसकेका अनुभवी नेता हुन्। सुर्खेत १ का ध्रुवकुमार शाही पूर्व प्रतिनिधि सभा सदस्य तथा हाल प्रदेश कमिटी सचिव हुन् भने सुर्खेत २ का कुलमणि देवकोटा वर्तमान जिल्ला अध्यक्ष हुन्।
    हुम्लाका दल रावल पूर्व प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री हुन्। डोल्पाकी बद्मीक्वाँरी बोहरा २०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी थिइन्। दैलेख १ का रविन्द्र शर्मा पूर्व प्रतिनिधि सभा सदस्य हुन् भने दैलेख २ का विष्णु रिजाल पहिलोपटक संसदीय चुनाव लड्ने तयारीमा रहेका केन्द्रीय सदस्य हुन्।

    कालीकोटमा विवाद, दैलेखमा पार्टी प्रवेश

    कालीकोटमा उम्मेदवार सिफारिसको विषयलाई लिएर विवादसमेत देखिएको छ। एकल नाम सिफारिस गरिएको भन्दै युवा नेता वकिल बमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। यद्यपि एमाले प्रदेश कमिटीले विवादित दुवै सिफारिस केन्द्रमा पठाइएको जनाएको छ।
    यता दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस भएका नन्दकिशोर बस्नेत टिकट नपाउने निश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। एमालेबाट सिफारिस भइसके पनि अन्तिम उम्मेदवार चयन नहुने देखिएपछि उनले रास्वपाको केन्द्रीय कार्यालय पुगेर पार्टी प्रवेश गरेका हुन्।
    एमालेले कर्णालीमा उम्मेदवार सिफारिस प्रक्रिया पूरा गरेसँगै अब केन्द्रीय कमिटीको निर्णयपछि अन्तिम उम्मेदवार टुंगो लाग्नेछ।

  • २८ पुष २०८२, सोमबार ०८:४५ प्रकाशित

  • Nabintech