१, माघ २०८२
सुर्खेत ।अन्ततः नेपाली कांग्रेस दुई चिरा बनेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारवाही गर्ने निर्णय गरेसँगै कांग्रेस विभाजन भएको हो । कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय बैठकले विशेष महाधिवेशनका नाममा पार्टी एकतालाई कमजोर पार्ने गतिविधिमा संलग्न भएको भन्दै गगन, विश्वप्रकाश र फरमुल्लालाई पाँच वर्षका लागि पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिकिो बैठकमा तीन नेतालाई कारवाही गरिएको निर्णय कार्यवहाक सभापति पूर्णबहादुर खड्काले सुनाएका थिए । यसलाई पार्टी फुटकै नाम दिएका छन् कार्यवाहक सभापति पूर्णबहादुर खड्काले । उनले केन्द्रीय कमिटी बैठकमा भावुक हुँदै भनेका छन्, ‘पार्टी बचाउन सकिएनँ ।’
यो निर्णय लिएर संस्थापन पार्टी सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगिसकेको छ । विषेश महाधिवेशन आफुहरुले नगराएको र यसलाई वैधानिकता नदिन देउवा समूहले निर्वाचन आयोगलाई अनुरोध गरेको छ । आमनिर्वाचन नजिकिदै गर्दा अब देउवाको एउटा कांग्रेस र गगन–विश्वको अर्को कांग्रेस बनेको छ ।
महामन्त्रीहरुले विशेष महाधिवेशन आह्वान गरेपछि दुई दिनयताका जारी वार्ता र संवादहरु टुङ्गोमा नपुगेपछि कांग्रेस फुटको डिलमा पुगेको हो । विशेष महाधिवेशनपक्षले संस्थापन पक्षसँग नौवटा माग राखेको थियो । त्यसमध्ये अधिकांश माग भने संस्थापनपक्षले अस्वीकार गरेको थिएन ।
मुख्यगरी सभापति शेरबहादुर देउवालाई तत्काल छोड्न र संरक्षक बस्न गरेको आग्रह भने संस्थापनपक्षले अस्वीकार गर्दै आइरहेको थियो । त्यही कारण विशेष महाधिवेशनपक्षधरबीच सहमति जुट्न नसकेको हो ।
यो साता नेपाली कांग्रेस फुट्ला वा नफुट्ला, क्रमशः देखिने नै छ । तर, नेपाली कांग्रेसको इतिहासमा विभिन्न चरण गरी सात पटक फुटेको देखिन्छ । जसमध्ये दुई फुटमा कारक पार्टी सभापति देउवा बनेका छन् । झण्डै आठ दशकको इतिहास बोकेको कांग्रेस यस पटक जेन–जी आन्दोलनपछि नीति, विधि रुपान्तरण र नेतृत्व हस्तान्तरणको माग गगन–विश्वहरुले उठाउँदा उनै देउवाले नमानेपछि विभाजन भएको हो ।
२०५९ मा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र देउवाको टकराव थियो । २०५९ असार पहिलो साता तत्कालिन समयमा प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बताएका थिए । उनै देउवाको दुत बनेर यस पटक कांग्रेसलाई एकतावद्ध बनाउने कमाण्डमा खटिएका थिए, कार्यवहाक सभापति पूर्णबहादुर खड्का । तर, कांग्रेसको पाँच दशक लामो राजनीतिमा आफ्नो इमानमा प्रश्न उठन् नदिएका खड्काले कांग्रेसलाई एकताको सुत्रमा बाध्न खेल्नु पर्ने भूमिकाबाट भने फेल हुन पुगेका छन् ।
उनले जेन–जी आन्दोलनपछि पार्टीको नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा निर्णायक भूमिका निभाउन नसक्दा अन्ततः महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विद्रोह पार्टी विभाजनसम्म पुगेको छ । कार्यवहाक सभापतिको जिम्मेवारीमा आएदेखि उनले नेता तथा कार्यकर्ताको चाहना बमोजिम सुजबुझको निर्णयभन्दा देउवाकै इसरा अनुसरण गरेपछि कांग्रेस विभाजन हुन पुगेको छ ।
२९ असोजमा विशेष महाधिवेशन पक्षधरको हस्ताक्षर बुझेका कार्यवहाक सभापति खड्काले तीन महिनापछि पार्टी एकतामा प्रतिकुल असर पर्ने गतिविधिमा संलग्न नहुन जारी गरेको पत्रले फेल खाएको छ । सुरुदेखि नै देउवाको पदचाल पछ्याएका खड्काले महामन्त्रीद्वयको अग्रसरतामा आइतबारदेखि भएको विशेष महाधिवेशनको मर्म बुझ्न सकेनन् । आफ्नो गृहप्रदेश कर्णालीबाट नियमित महाधिवेशनको पक्षमा बहुमत जुटाउन सफल भएका कार्यवहाक सभापति खड्काले अन्ततः कांग्रेसलाई फुटको डिलबाट जोगाउन असफल बनेका छन् ।
यस्तो छ कांग्रेस विभाजनको साइड इफेक्ट
कांग्रेस विभाजन भएसँगै अब आधिकारिकता कसले पाउने भन्ने विषय बहसमा आएको छ । संस्थापन पक्षले विशषे महाधिवेशन विद्यानविपरित रहेको दावी गरिरहदा विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइ सकेको छ । यस्तोमा प्रमुख पार्टी कांग्रेसको आधिकारिकताको विवादले २१ फागुनको निर्वाचन नै प्रभावित हुनेछ । विभाजित कांग्रेसले थोरै पनि गति नलिई चुनावमा जाने अवस्था हुनेछैन ।
कांग्रेसबिनाको चुनाव हुने सम्भावना कम छ । यसबीचमा कांग्रेसमा सबैभन्दा पहिला वैधानिकताको लडाइँ हुँदै छ । त्यो लडाइँले चुनावलाई स्वतः प्रभावित बनाउनेछ । वैधानिकता नपाएको समूहका लागि संगठन निर्माण, चुनाव चिह्नलगायतका सबै प्रक्रिया पूरा गर्न पनि समय चाहिन्छ । त्यस अर्थमा चुनाव प्रभावित हुने निश्चित छ । चुनावको सम्मुखमा भएको विभाजनले चुनाव सर्ने हो कि टर्ने हो भन्ने खतरा पनि बढेको छ ।
यस्तै, कांग्रेस विभाजनले अस्थिर राजनीतिलाई बढवा दिनेछ । कांग्रेसको विभाजन कांग्रेसको आन्तरिक जीवनका लागि मात्र होइन, नेपालको राजनीतिक जीवनका लागि अर्थपूर्ण हुनेछ । अर्थात्, यो विभाजन आन्तरिक राजनीतिका लागि नै दख्खल पुर्याउने घटना बन्नेछ । लोकतन्त्रको लडाइँमा लामो समय संघर्ष गरेको र राजनीतिक एजेन्डा सेट गर्ने दलको विभाजन अस्थिर राजनीतिको कारक बन्ने सम्भावना देखिन्छ ।
कांग्रेसको विभाजनले तत्कालका लागि चुनाव सर्ने सम्भावना र त्यसले राजनीतिक अस्थिरतालाई बल पुर्याउने परिघटनाबाहेक लोकतन्त्रमाथि नै प्रश्न उठ्नेछ । चुनाव सर्दा सिर्जना हुने अस्थिरताले लोकतन्त्र नै खतरामा पर्ने अवस्था आउने सम्भावना देखिन्छ ।
वैचारिक राजनीतिक दलहरूको विभाजनले पपुलिस्ट राजनीतिले प्रश्रय पाउने सम्भावना हुन्छ । अर्थात्, वैचारिक एजेन्डासहितको राजनीतिभन्दा सामाजिक सञ्जालबाट गरिने राजनीतिले प्राथमिकता पाउने सम्भावना हुन्छ । त्यसले चुनावमा पनि यस्तो राजनीतिले प्रभाव पार्ने सम्भावना हुन्छ । लोक रिझ्याइँको राजनीति हावी हुँदा नेपालमा बलियो राजनीतिक शक्ति नहुने सम्भावना रहन्छ । कांग्रेसको विभाजनसँग सर्ने चुनाव र बढ्ने राजनीतिक अस्थिरताले भूराजनीतिक चलखेल थप बढाउनेछ । नेपालको सरकार बनाउने र ढाल्ने खेलमा शक्तिराष्ट्रहरू हावी हुने सम्भावना रहन्छ ।
बलियो शक्तिसहितको दल र सरकार नहुँदा त्यस्तो अवस्थामा शक्ति केन्द्रले सरकार चलाउने विडम्बनापूर्ण अवस्था पनि आउन सक्छ । कांग्रेसको विभाजनको असर दोस्रो ठूलो दल एमालेमा पनि प्रभाव पर्ने सम्भावना रहन्छ । कांग्रेसभित्रको विद्रोहको साइड इफेक्ट एमालेमा पर्ने अवस्था आउने सम्भावना देखिन्छ ।
एमालेमा यसअघि पनि विद्रोहको प्रयास नभएको होइन तर कांग्रेसजस्तो बलियो भने हुन सकेन । त्यसैले, एमालेभित्र गुम्सिएको उकुसमुकुस पोखिनका लागि बल पुग्नेछ । चुनाव भएको अवस्थामा कांग्रेस विभाजनको फाइदा रास्वपाले लिने सम्भावना रहन्छ । कांग्रेसको भोट विभाजित हुने र एमालेप्रतिको भर घट्दो क्रममा रहेका कारण पपुलिस्ट राजनीति गरिरहेको रास्वपासहितका अन्य दलहरूले लाभ लिने अवसर मिल्नेछ ।










