सुर्खेत ,४ माघ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले सदस्य सचिव सिफारिस समितिको निर्णयअनुसार योग्य उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।
सामाजिक विकास मन्त्रालयले ९ मंसिरमा प्रकाशित सूचनाअनुसार प्रारम्भिक योग्यताक्रममा परेका उम्मेदवारहरूबाट छनोट गरी शनिबार अन्तर्वार्ता सञ्चालन गरिएको थियो । अन्तर्वार्तामा सहभागी १० जना उम्मेदवारमध्येबाट मूल्याङ्कनका आधारमा तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
सदस्य सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२ अनुसार शैक्षिक योग्यता, अनुभव, प्रस्तुतिकरण तथा अन्तर्वार्ताबाट प्राप्त अंकका आधारमा योग्यताक्रम कायम गरी नाम सिफारिस गरिएको हो ।
सिफारिस सूची अनुसार योग्यताक्रममा रविन्द्र चन्द, दिपक हमाल र प्रमोद हमाल छन् ।
सदस्य सचिव सिफारिस समितिका सदस्य–सचिव जवाहरलाल हमालका अनुसार समितिको सिफारिस सामाजिक विकास मन्त्रालयमार्फत कर्णाली प्रदेश सरकार समक्ष पेश गरिसकिएको छ । अन्तिम निर्णय प्रदेश सरकारले गर्ने व्यवस्था छ ।
६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो ।
प्रदेश सरकारले परिषद् रिक्त भएको एक वर्षपछि सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएकाे थियाे ।











