बाँकेमा महिला–बालबालिका विरुद्धको हिंसाविरुद्ध प्रेषण प्रणाली कार्यविधि सार्वजनिक

  • नमस्ते कर्णाली

  • ७, माघ २०८२
    बाँके।महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनीकरण, पीडितको संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न बाँकेको जानकी र खजुरा गाउँपालिकाले ‘महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी प्रेषण प्रणाली कार्यविधि २०८२’ सार्वजनिक गरेका छन्।

    सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र (आइएचआरसी) नेपालगञ्ज र महिला, कानुन र विकास मञ्चको प्राविधिक सहयोगमा तयार गरिएको कार्यविधि औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो। आइएचआरसीका कार्यकारी निर्देशक राकेश मिश्रका अनुसार, संस्थाले बर्दियाको एक र बाँकेका तीन स्थानीय तहमा यस्ता कार्यविधि निर्माणमा प्राविधिक सहयोग र समन्वय गरेको छ।

    जानकी गाउँपालिकामा भएको कार्यक्रममा अध्यक्षता गरेका अधिवक्ता विश्वजित तिवारीले कार्यविधि निर्माणसँगै एक चरण पूरा भएको उल्लेख गर्दै अब यसको प्रभावकारी कार्यान्वयनमा पालिकाले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, महिला विकास शाखा प्रमुख कल्पना गाहामगर, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी र महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले कार्यविधिले पीडितमैत्री सेवा प्रणाली सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा सूचना प्रविधि अधिकृत विकास जिसी, सामाजिक विकास समिति संयोजक राम अचल धोबी, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, कार्यपालिका सदस्य राजेन्द्र सिंह, जिन्सी शाखा प्रमुख राजु यादवसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • ८ माघ २०८२, बुधबार १९:२२ प्रकाशित

  • Nabintech