डुडुवा गाउँपालिकाको मानवीय पहल : चिसोबाट जोगाउन छाडा चौपायाका लागि गौशालामा न्यानो कम्बल र सुरक्षित आश्रय

  • नमस्ते कर्णाली

  • बाँके,१३ माघ ।
    बाँकेको डुडुवा गाउँपालिकाले बढ्दो चिसोबाट छाडा चौपायालाई जोगाउन उदाहरणीय र मानवीय पहल थालेको छ। कठ्याङ्ग्रिने जाडोका कारण पशुहरू प्रभावित हुन थालेपछि गाउँपालिकाले गौशालामा रहेका गाई, गोरु, बाछा र बाछीलाई न्यानो कम्बल उपलब्ध गराएर सुरक्षित रूपमा राख्ने व्यवस्था गरेको हो। वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा छाडा चौपायाका लागि विशेष हेरचाहसहित न्यानो वातावरण तयार पारिएको छ।
    गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, गोरु, बाछा र बाछीलाई चिसोबाट बचाउन न्यानो कम्बल वितरण गरिएको छ। पछिल्ला दिनहरूमा तापक्रम लगातार घट्दै गएपछि पशुहरूको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था देखिएपछि तत्काल यो व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। “मानिस मात्र होइन, पशु पनि प्रकृतिको अंग हुन्। उनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो,” अध्यक्ष चौधरीले भन्नुभयो।
    गौशालामा पशुहरूलाई न्यानो कपडा ओढाइ गोठभित्र सुरक्षित राखिएको छ। साथै, उनीहरूलाई आरामदायी बनाउन गोठभित्र पराल र भुस बिछ्याइएको छ। चिसो मौसममा पशुहरूलाई आवश्यक पर्ने पर्याप्त चाराको व्यवस्था पनि गरिएको गाउँपालिकाले जनाएको छ। यसले पशुहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
    पशुहरूको नियमित हेरचाह, खानपान र स्वास्थ्य अवस्थाको निगरानीका लागि एक जना जनशक्ति पनि खटाइएको छ। सो जनशक्तिले दैनिक रूपमा पशुहरूको अवस्था हेर्ने, चारा व्यवस्थापन गर्ने र कुनै समस्या देखिए तत्काल जानकारी गराउने जिम्मेवारी पाएको छ। गाउँपालिका अध्यक्ष चौधरीका अनुसार डुडुवा आसपासका क्षेत्र मात्र नभई भारतीय नाकाबाट आउने छाडा चौपायालाई समेत गौशालामा ल्याएर संरक्षण गर्ने गरिएको छ। यसले सडक दुर्घटना कम गर्न, खेतीबाली जोगाउन र पशु कल्याणलाई बढावा दिन सहयोग पुगेको छ।
    यसैबीच, डुडुवा गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख मदनेश्वर झाले गौशालाका कर्मचारी दामोदर यादवलाई न्यानो कम्बल हस्तान्तरण गर्नुभएको छ। कम्बल हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्राविधिक प्रमुख झाले पशु कल्याण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा गौशालाको व्यवस्थापन थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो।
    डुडुवा गाउँपालिकाले निर्माण गरेका दुई वटा गोठमा करिब एक सय वटा चौपाया राख्न सक्ने क्षमता रहेको छ। हाल क्षमता अनुसार पशुहरू क्रमशः राखिँदै गएको गाउँपालिकाले जनाएको छ। आवश्यक परेमा थप गोठ निर्माण गर्ने र पशु संरक्षणका कार्यक्रम विस्तार गर्ने योजना पनि बनाइएको छ।
    स्थानीय तहको यस किसिमको पहलले पशु कल्याणप्रति जिम्मेवार शासन प्रणालीको उदाहरण प्रस्तुत गरेको छ। छाडा चौपायाका कारण हुने दुर्घटना, खेतीबाली क्षति र वातावरणीय असन्तुलनजस्ता समस्या समाधानमा पनि यो कदम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदायमा पशुप्रतिको दया, संरक्षण र सहअस्तित्वको भावना विकास गर्न यसले सकारात्मक सन्देश प्रवाह गरेको छ।
    डुडुवा गाउँपालिकाको यो पहलले स्थानीय सरकारको संवेदनशीलता मात्र होइन, मानव र पशुबीचको सहअस्तित्वलाई मजबुत बनाउने प्रयासको रूपमा पनि उदाहरणीय कार्यको रूप लिएको छ। चिसो मौसममा न्यानो कम्बल ओढेर सुरक्षित बसेका छाडा चौपायाहरूले स्थानीय तहको जिम्मेवार र दिगो विकासतर्फको कदमलाई जीवन्त रूपमा देखाइरहेका छन्।

  • १४ माघ २०८२, मंगलवार १७:४२ प्रकाशित

  • Nabintech