१५, माघ २०८२
जुम्ला ।यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार नियमिततर्फ २ हजार १ सय ३३ जना र ग्रेडवृद्धितर्फ १ सय २२ जना विद्यार्थी छन्।यस वर्षको सहभागिता अघिल्लो वर्षको तुलनामा ४ सय २६ जनाले कम हो। गत वर्ष जुम्लाबाट २ हजार ६ सय ८१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।प्राविधिक धारतर्फ भने नियमित १ सय १९ जना र ग्रेडवृद्धि ११ जना गरी कुल १ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्।
ती विद्यार्थी चन्दननाथ नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय महतगाउँ, तिला गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय कुडारी र हिमा गाउँपालिका–२ स्थित नेत्र ज्योति माध्यमिक विद्यालय ओदीबाट परीक्षा दिनेछन्।यस्तै खुला विद्यालयतर्फ सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयबाट १७ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन्। तीमध्ये १६ जना नियमित र १ जना ग्रेडवृद्धितर्फका छन्।पछिल्ला चार वर्षको तथ्यांकले जुम्लामा एसईई परीक्षार्थी संख्या समग्र रूपमा घट्दो क्रममा रहेको देखाउँछ।२०७९ सालमा जिल्लाका आठवटै स्थानीय तहबाट २ हजार ८ सय ७७ जना विद्यार्थी सहभागी भएका थिए।२०८० सालमा यो संख्या ३ सय २० जनाले घटेर २ हजार ५ सय ५७ मा झर्यो।२०८१ सालमा भने १ सय २४ जनाले बढेर २ हजार ६ सय ८१ पुगेको थियो।तर, यस वर्ष फेरि ठूलो गिरावट आउँदै ४ सय २६ जनाले घटेर २ हजार २ सय ५५ मा सीमित भएको छ।यसरी हेर्दा २०७९ देखि २०८२ सम्म चार वर्षमा कुल ६ सय २२ जना परीक्षार्थी घटेका छन्।शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका अनुसार बसाइँसराइ, विद्यालय उमेर समूहको जनसंख्या घट्नु र बीचमै पढाइ छोड्ने प्रवृत्ति परीक्षार्थी संख्या घट्नुका प्रमुख कारण हुन्। यद्यपि समग्र संख्या घटे पनि प्राविधिक धार र खुला विद्यालयतर्फको सहभागिता भने निरन्तर रहनु सकारात्मक संकेत भएको इकाइले जनाएको छ।आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक भएको छ।











