१६, माघ २०८२
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताउनु भएको छ ।
घोराही उपमहानगरपालिकाको ४८ औं नगर स्थापना दिवस तथा ‘लैङ्गिक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको हाे । `जनताको जीवनस्तर उकास्न धेरै काम भएका छन् । यो सबै साझा प्रयत्न र कुशल नेतृत्वको परिणाम हो,´मुख्यमन्त्री आचार्यले भन्नुभयाे ।
घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उहाँले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमुनायोग्य काम भएको बताउनुभयाे ।`अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने, गर्न नदिने प्रतिबद्धता सबैले जनाइसक्नुभएको छ,´ उहाँले भन्नुभयाे ।

समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिनुभयाे । पछिल्लो एक वर्षमा घोराहीमा जम्मा २२ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको र जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत मात्र रहेको हाे ।
कार्यक्रम उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नु भएको हाे । घोषणामा योगदान पुर्याउने सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई सभ्य र समुन्नत बनाउने दिशामा यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभयाे ।
उहाँले पूर्वाधार, सामाजिक र आर्थिक विकासमार्फत समाज रूपान्तरणको अभियान अगाडि बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि पनि विशेष अभियान आवश्यक रहेको धारणा राख्नुभयाे ।











