१८, माघ २०८२
बाँके । झण्डै छ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजना अन्ततः पूर्णता पुगेको छ । शनिबार बाँकेको कोहलपुर सवस्टेसनबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना सवस्टेसनमा सफलतापूर्वक विद्युत् प्रवाह भएपछि आयोजना औपचारिक रूपमा सम्पन्न भएको हो ।
कोहलपुर सवस्टेसनदेखि सुब्बाकुना सवस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उच्च क्षमताको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित भएसँगै लामो समयदेखिको कर्णालीवासीको प्रतीक्षा समाप्त भएको छ । आयोजनाअनुसार प्रसारण लाइनमा विद्युत् प्रवाह सफल भएपछि अब ३३ केभी वितरण लाइनमा जोड्ने प्रक्रिया सुरु गरिनेछ ।
कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा सुधार गर्ने लक्ष्यसहित २२ असार २०७६ मा अघि बढाइएको यो आयोजना सम्झौताअनुसार २३ असार २०७८ मै सम्पन्न हुनुपर्ने थियो । तर बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने जग्गा भोगाधिकार, रुख कटानको प्रक्रिया, स्थानीय अवरोध र प्राविधिक चुनौतीका कारण आयोजना करिब चार वर्ष ढिलाइ हुन पुगेको हो ।
कठिन भूगोल रहेको सुर्खेतको हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भएसँगै शनिबार सुब्बाकुना सवस्टेसनमा उच्च भोल्टेजको विद्युत् छाडिएको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् प्रवाहअघि प्रसारण लाइनको प्राविधिक परीक्षण गरिएको थियो । कोहलपुरदेखि सुब्बाकुना सवस्टेसनसम्मको ५२ किलोमिटर दूरीमा पोल र तारमा रुखका हाँगा–बिँगा छोए नछोएको यकिन गरेपछि मात्र विद्युत् प्रवाह गरिएको हो ।
आयोजना प्रमुख चौधरीका अनुसार राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले रुख कटान न्यून गर्न ड्रोनमार्फत तार तान्ने प्रविधि अपनाइएको थियो । बाक्लो हुस्सु, अप्ठ्यारो भूगोल र वन क्षेत्रका कारण काम चुनौतीपूर्ण भए पनि अन्ततः सफल भएको उहाँले बताउनुभयो ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टावर निर्माण तथा तार तान्ने जिम्मा लिएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका क्रममा करिब १३ हजार रुख काट्नुपरेको थियो । राष्ट्रिय निकुञ्जभित्र रुख कटान प्रक्रियामा ढिलाइ र स्थानीयको अवरोधले आयोजना लम्बिएको थियो ।
प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ । तीमध्ये सुब्बाकुनामा रहेको एउटा टावर ५० मिटर अग्लो छ भने अन्य टावरहरू करिब ३० मिटर उचाइका छन् । गत वैशाखमा बानियाँभार क्षेत्रको राष्ट्रिय वनमा स्थानीयको अवरोधपछि प्रशासनले सुरक्षाकर्मी परिचालन गरी रुख कटान गरेको थियो । सर्वोच्च अदालतले समेत आयोजना रोक्न नमिल्ने आदेश दिएपछि अवरोध हटेको थियो । सो क्रममा प्रभावित स्थानीयलाई झण्डै १६ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।
झण्डै चार दशक पुरानो ३३ केभी प्रसारण लाइन विस्थापित गरी उच्च गुणस्तरको विद्युत् कर्णाली पुर्याउने उद्देश्यसहित यो आयोजना अघि बढाइएको हो । नयाँ १३२ केभी प्रसारण लाइन सुर्खेत हुँदै दैलेख, कालीकोट र जुम्लासम्म विस्तार हुने योजना छ । हाल सुर्खेतदेखि दैलेखको चुप्रासम्म प्रसारण लाइन विस्तार र चुप्रामा सवस्टेसन निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

यसअघि २०४५ सालमा विस्तार गरिएको ३३ केभी लाइन जंगल क्षेत्र हुँदै साना पोलमा रहेकाले हावा–पानीका कारण बारम्बार अवरुद्ध हुने र भोल्टेज समस्या देखिने गरेको थियो । अब एंगल टावरसहितको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा विद्युत् आपूर्ति भरपर्दो हुने र उपभोक्ताले लामो समयदेखि भोग्दै आएको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ ।










