१९,माघ २०८२
बर्दिया । ठूलो लगानीमा निर्माण गरिएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले औपचारिक रूपमा चिनी उत्पादन सुरु गरेको छ । बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरमा स्थापना गरिएको उक्त चिनी मिलले चिनी उत्पादन थालेको हो । मंसिर महिनाको अन्तिम साताबाट उत्पादन सुरु गर्ने तयारी भए पनि केही प्राविधिक कारणले ढिलाइ हुँदा पुस २२ गतेदेखि मात्र चिनी उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिका महाप्रबन्धक श्रीकृष्ण महतोका अनुसार हाल उद्योगले दैनिक करिब २ सय ५० क्विन्टल चिनी उत्पादन गरिरहेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक ३ लाख ३० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य लिइएको छ । यहाँ उत्पादन हुने चिनी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश लगायत देशका विभिन्न भू–भागमा आपूर्ति गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
करिब २ अर्ब ५० करोड रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको यो चिनी मिल बर्दिया जिल्लाकै ठूला औद्योगिक परियोजनामध्ये एक मानिन्छ । उद्योग सञ्चालनमा आएसँगै स्थानीय स्तरमा रोजगारीको ठूलो अवसर सिर्जना भएको छ । महाप्रबन्धक महतोका अनुसार हाल उद्योगमा करिब ५ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादन विस्तारसँगै आगामी दिनमा रोजगारीको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।
२१ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको यो चिनी मिल आधुनिक प्रविधियुक्त उपकरण र संरचनासहित सञ्चालनमा आएको हो । धान उत्पादनका लागि परिचित यस क्षेत्रमा पछिल्लो समय उखु खेतीप्रति किसानको आकर्षण बढ्दै गएको उद्योगले जनाएको छ । उद्योग स्थापना भएपछि राजापुर क्षेत्रका किसानले झण्डै २ हजार ५ सय बिघा क्षेत्रफलमा उखु खेती सुरु गरेका छन् । यसले किसानको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उखुको आपूर्ति सहज बनाउन उद्योगले स्थानीय किसानसँग मात्र नभई छिमेकी कैलाली जिल्लाबाट समेत उखु खरिद गर्ने व्यवस्था मिलाएको छ । यसले सीमावर्ती जिल्लाका किसानलाई समेत बजार सुनिश्चितता प्रदान गर्ने विश्वास गरिएको छ । महाप्रबन्धक महतोले उद्योगका लागि आवश्यक उखु उत्पादन बढाउन किसानलाई अनुदान, प्राविधिक सहयोग र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । “किसानले उखु खेतीमा जोखिम नलिनुपरोस् भनेर हामीले बीउ, प्रविधि र अनुदानमार्फत सहयोग गर्दै आएका छौं,” उहाँले भन्नुभयो ।
उद्योग सञ्चालनमा आएसँगै राजापुर क्षेत्रको आर्थिक गतिविधिमा समेत चहलपहल बढेको छ । स्थानीय व्यवसाय, यातायात, आवास र सेवा क्षेत्रमा समेत यसको सकारात्मक प्रभाव देखिन थालेको छ । स्थानीयवासीले चिनी मिल सञ्चालनलाई क्षेत्रको आर्थिक विकासका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश र संघीय सरकारको औद्योगिक विकास नीति अनुरूप निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको यस उद्योगले आत्मनिर्भर अर्थतन्त्रतर्फ योगदान पुर्याउने अपेक्षा गरिएको छ । चिनी आयातमा निर्भरता घटाउने, स्थानीय कच्चा पदार्थको उपयोग गर्ने र रोजगारी सिर्जना गर्ने दृष्टिले राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालि महत्वपूर्ण उद्योगका रूपमा स्थापित हुने देखिन्छ ।










