हिन्दु–मुस्लिम एकताको जीवित धरोहर: नरैनापुरमा १५१औँ वर्षको सूफी सन्त खलिफा नुर अहमद शाह उर्स मेला सुरु

  • नमस्ते कर्णाली

  • २०, माघ २०८२

    बाँके। हिन्दु–मुस्लिम समुदायबीचको एकता, सद्भाव र आपसी सम्मानको अनुपम प्रतीकका रूपमा परिचित नरैनापुर गाउँपालिका–२ स्थित सूफी सन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा परम्परागत धार्मिक उर्स मेला गयरातीबाट औपचारिक रूपमा सुरु भएको छ। पछिल्ला १५१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो मेलाले नरैनापुरलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारा प्रवर्द्धन गर्ने केन्द्रका रूपमा स्थापित गर्दै आएको छ।
    जात, धर्म र समुदायको सीमाभन्दा माथि उठेर आयोजना हुने यस मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ हिन्दु–मुस्लिम श्रद्धालुहरूको सहभागिता रहँदै आएको छ। सूफी दर्शनले दिएको प्रेम, करुणा र मानवताका सन्देशलाई आत्मसात् गर्दै श्रद्धालुहरू यहाँ आस्था र विश्वासका साथ उपस्थित हुने गरेका छन्। यही कारण यो मेला धार्मिक कार्यक्रम मात्र नभई सामाजिक एकताको उत्सवका रूपमा समेत लिइन्छ।
    मेलाको उद्घाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खलिफा नुर अहमद शाहको समाधि स्थल, सन्तानेश्वर, बर्फानी बाबा लगायतका ऐतिहासिक तथा धार्मिक स्थललाई समेटेर नरैनापुरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको जानकारी दिनुभयो। अध्यक्ष शाहले भन्नुभयो, “यो मेला केवल धार्मिक आस्थासँग जोडिएको कार्यक्रम मात्र होइन, हिन्दु–मुस्लिम सद्भाव, सामाजिक सहअस्तित्व र आपसी सम्मानको सशक्त सन्देश पनि हो। यस्तो परम्पराले हाम्रो समाजलाई अझ बलियो बनाउँछ।”
    कार्यक्रममा गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले समाधिमा आउने श्रद्धालुहरूको मनोकामना पूरा हुने जनविश्वासका कारण हरेक वर्ष मेलामा सहभागीको संख्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले बढ्दो भीडलाई व्यवस्थित र सुरक्षित रूपमा व्यवस्थापन गर्न पूर्वाधार, सरसफाइ, स्वास्थ्य सेवा तथा सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
    नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहका अनुसार प्रत्येक वर्ष माघ महिनामा समाधि विकास समितिको आयोजनामा खलिफा नुर अहमद शाहको उर्स मेला परम्परागत रूपमा भव्य ढंगले मनाइँदै आएको छ। उहाँले यस मेलाले स्थानीय संस्कृति संरक्षणसँगै आपसी सहकार्य र सद्भावलाई बलियो बनाउँदै आएको बताउनुभयो।
    मेलाका संयोजक गुफरान अहमद शाहले मेलाको अवधिभर सात दिनसम्म धार्मिक प्रवचन, फातिहा, नियाज, कुरान पाठ, कव्वाली तथा अन्य आध्यात्मिक गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा धर्मगुरुको भूमिका डा. सैयद वकास अहमद शाहले निर्वाह गरिरहनुभएको छ। उहाँको प्रवचनले सूफी सन्तको शिक्षालाई नयाँ पुस्तासम्म पुर्‍याउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।
    नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित यो समाधि स्थल वर्षेनी ठूलो संख्यामा श्रद्धालुको गन्तव्य बन्दै आएको छ। मेलाको अवसरमा स्थानीय बजार पनि चलायमान बन्ने गरेको छ, जसले स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्दै आएको छ। होटल, यातायात, खुद्रा व्यापार र स्थानीय उत्पादनको खपतमा वृद्धि हुने गरेको स्थानीयवासीको भनाइ छ।
    उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकी निवर्तमान प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, वडा नम्बर १ का वडाध्यक्ष इसाक जोलाह, गाउँपालिकाका प्रेस विज्ञ आलम खान, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता मेलाले समाजमा शान्ति, सहिष्णुता र आपसी विश्वासको भावना मजबुत बनाउने धारणा व्यक्त गरेका छन्।
    १५१ वर्षको इतिहास बोकेको खलिफा नुर अहमद शाहको उर्स मेला आज पनि हिन्दु–मुस्लिम एकताको जीवित धरोहरका रूपमा उभिएको छ। धार्मिक आस्थाभन्दा पर मानवीय मूल्य, प्रेम र सद्भावको सन्देश फैलाउँदै आएको यो मेला भविष्यमा पनि सामाजिक एकताको सेतुका रूपमा निरन्तर कायम रहने विश्वास गरिएको छ।

  • २१ माघ २०८२, मंगलवार ०८:०८ प्रकाशित

  • Nabintech