आचारसंहिता उल्लङ्घनमा निर्मम कारबाही गरिन्छ: प्रेस काउन्सिल अध्यक्ष आचार्य

  • नमस्ते कर्णाली

  • २०, माघ २०८२
    नेपालगन्ज ।प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार तथा सञ्चार माध्यमप्रति कडा र निर्मम कारबाही गरिने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा तथा प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा सम्पन्न ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई सुरुमा सचेत गराइने तर सुधार नआए कठोर कदम चाल्नुको विकल्प नरहने बताउनुभयो।
    अध्यक्ष आचार्यले विशेषगरी निर्वाचनको माहोलमा पत्रकारहरू अझ बढी मर्यादित, संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। पत्रकारले आफ्नो गल्ती सच्याउने तत्परता देखाउनुपर्ने उल्लेख गर्दै उहाँले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ध्यानमा राख्न आवश्यक रहेको बताउनुभयो। पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमा व्यक्त गर्ने विचारसमेत अनुगमनको दायरामा पर्ने स्पष्ट पार्दै प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको जानकारी दिनुभयो।
    कार्यक्रममा अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक र समयसापेक्ष बनाउने उद्देश्यले परिमार्जनको प्रयास भइरहेको जानकारी गराउनुभयो। साथै अनलाइन सञ्चार माध्यमको वर्गीकरणका लागि पनि काउन्सिलले आवश्यक पहल गरिरहेको उहाँको भनाइ थियो। काउन्सिलले ५० वर्षभन्दा बढी समय पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले अब पुरस्कार तथा सम्मान आस्था वा पहुँचको आधारमा होइन, योग्यताको आधारमा प्रदान गरिने प्रणाली स्थापना गरिने स्पष्ट पार्नुभयो। प्रादेशिक संरचना विस्तारका विषयमा समेत काउन्सिल परामर्शमै रहेको र आफू सकारात्मक रहेको उहाँले बताउनुभयो।
    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले काउन्सिलका पछिल्ला गतिविधि र अनुगमनका अभ्यासबारे जानकारी गराउनुभएको थियो। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले आचारसंहिताको गम्भीरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार, निष्पक्ष र तथ्यपरक बन्न आग्रह गर्नुभयो।
    अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतमसहित पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरेलगायतले आ–आफ्ना जिज्ञासा, सुझाव र पृष्ठपोषण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गर्नुभएको थियो।

  • २१ माघ २०८२, मंगलवार ०८:१७ प्रकाशित

  • Nabintech